Butwal Today

कपिलवस्तुको चाकलचौडामा सशस्त्र प्रहरीको ज्यादती, लाठीचार्ज गर्दा ३ स्थानीय घाइते

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

कपिलवस्तु , ५ भदौ।

कपिलवस्तु जिल्लाको भारतसँग सीमा जोडिएको मायादेवी गाउँपालिका–४ चाकलचौडामा सशस्त्र प्रहरीले अनावश्यक बल प्रयोग गर्दा तीन स्थानीय घाइते भएका छन् ।

भारतको अलीगढवा बजारसँग जोडिएको चाकलचौडा बजारमा सशस्त्र टोलीले १५ वर्षीय एक बालकलाई किराना सामानवापतको पैसा नदिएको कारण कुटपिट गरेपछि विवाद सुरु भएको पिडितहरुको दाबी छ ।

विवाद बढेपछि गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर गुरुङको टोलीले लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा पिपराका ७५ वर्षीय अब्दुल कयुम, ५५ वर्षीय चिरकुट लोध र बुलाडिहवाका १६ वर्षीय साहिल मुसलमान घाइते भएका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

साहिलको हातको नसा काटिएको र अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय बासिन्दाले सशस्त्र प्रहरीको कारबाहीलाई “अनावश्यक ज्यादती” भन्दै विरोध गरेका छन् ।

मायादेवी–८ का अरबिन्द प्रसाद तिवारी भन्छन्– “बिना सोधपुछ, बृद्धदेखि महिलासम्मलाई कुटपिट भयो । मलाई समेत लाठी प्रहार गरिएको छ ।” स्थानीयले सीमामा प्रहरी र सशस्त्र दुवै निकायले विभिन्न स्थानमा अनावश्यक चेकजाँच गरेर नागरिकलाई सास्ती दिने गरेको आरोप समेत लगाएका छन् ।

सीमामा सामान ल्याउने व्यक्तिलाई सानो रकम असुल्ने र पटक–पटक झन्झट दिने गरेको उनीहरूको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्र कुमार सिंहले सडकमा राखिएको बाइक हटाउने विषयमा विवाद सुरु भई भिड अनियन्त्रित भएपछि सशस्त्रले बल प्रयोग गरेको बताए । उनका अनुसार तीन जना घाइते उपचाररत छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?