© २०२३
कपिलवस्तु, ५ भदौ ।
हरितालिका तिजको नाममा हुँदै आएको तडकभडक, विकृति बिसंङ्गती भन्दा पनि मौलिकतामा आधारित भई मनाउनु पर्ने सन्देश प्रवाह गर्न कपिलवस्तुको तौलिहवामा तिजको शुभकामना आदान प्रदान गरिएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को जीवन योग प्रयोगशाला आनन्दबाग तौलिहवाको आयोजनामा योग अभ्यास बारे सन्देश प्रवाह गर्ने उद्देश्यका साथ “नारी शक्ति र अध्यात्म” सन्देशको मौलिक हरितालिका तिज उत्सव तौलिहवामा आयोजना गरिएको हो ।
उत्सवमा तिजमा हराउँदै गएको पुराना गीत र नृत्य सहित तिजको मौलिकता जोगाउने मात्रै नभई अस्वास्थ्यकर आहार बिहार भन्दा सात्त्विक आहारा र योग अभ्यास बारेको सन्देश प्रवाह गरिएको थियो । उत्सवमा कपिलवस्तु नगरपालिकाका ५ वटा वडाका पहाडी र मधेसी समुदायका महिलाहरूको सहभागिता रहेको थियो ।

चर्को आवाजका साउन्ड सिस्टमका गीतहरू भन्दा पुराना र मौलिक गीतहरू गाएर संस्कृति जोगाउने प्रयास गरिएको थियो । हराउँदै गएको तिजको मौलिकता संरक्षण र योग मार्फत स्वास्थ्य जीवन बारे सचेतना प्रवाह गर्न कार्यक्रमले सहयोग गरेको उत्सवमा सहभागी जीवन योग प्रयोगशालामा आबद्ध शिक्षिका गीता त्रिपाठीले बताइन ।
पछिल्लो समय तिज पर्व साम्प्रदायिक सदभावको पर्वको रूपमा विकास हुँदै गएकाले सबै समुदाय बिचको अपनत्व वृद्धि गर्न तिज उत्सव आयोजना गरिएको जीवन योग प्रयोगशालामा आबद्ध अर्की शिक्षिका सुशीला बरालले बताइन ।
कार्यक्रममा सहभागीका लागी दैनिक आहार बिहारको समयलाई मध्यनजर गरी मसला रहित र न्यून तेल प्रयोग गरिएको सात्त्विक शाकाहारी खाना (दर) खुवाइएको थियो । परम्परा, रहनसहन र धर्म संस्कृति संरक्षण गरी नयाँ सन्ततिलाई हस्तान्तरण गर्नका लागी कार्यक्रम गरिएको कल्याण मित्र जीवन विज्ञानकी प्रशिक्षक कमला भण्डारीले जानकारी दिइन ।
“हिन्दुले मुस्लिमको मोहोर्रम पर्वमा सहभागिता जनाउँदै आएको, मधेसको छठ, नाग पञ्चमी पहाडी समुदायले मनाउने गरे जस्तै तिज उत्सवमा सबै समुदायको सहभागिता होस भन्ने भावनाले कार्यक्रम गरिएको हो ।” उनले भनिन ।
जीवन योग प्रयोगशालामा आबद्ध योग अभ्यास प्रयोगकर्ताले सरकारी निकायको श्रोत भन्दा समूह आफै आफैले सङ्कलन गरेको आर्थिक श्रोतबाट कार्यक्रम गरेको जनाए ।
शरीरमा हुने रोग व्याधी समस्या भन्दा पनि खानपिन, आहार बिहार र आचार बिचारले सिर्जना हुने हुँदा त्यसको निमुलीकरणमा योग अभ्यासको महत्त्व बुझाउन कार्यक्रम सहयोगी हुने प्रशिक्षक भण्डारीले बताइन ।
तिज उत्सव कार्यक्रममा अस्पताल सँगै योग प्रयोगशालाको आवश्यकता दर्साउने सन्देश तिज गीतबाट प्रस्तुत गरिएको थियो । त्यसै गरी कार्यक्रममा योग अभ्यास बारे प्रशिक्षण र सचेतना प्रवाह गरिएको थियो ।


