© २०२३
अहिले पानी पर्ने र घाम लाग्ने क्रम बढेसँगै वर्षाजन्य रोगसँग सम्बन्धित विभिन्न रोगहरूको प्रकोप फैलिएको छ । यही बेला स्क्रबटाईफस देखिएको छ । जापानी इन्सेफ्लाइटिसका कारण नेपालमा यो बर्षमात्रै ११ जनाको मृत्यु भैसकेको छ ।
टाइफाइड र भाइरल ज्वरो नेपालीको दैनिकी जस्तै भएको छ भने डेंगीको सङ्क्रमणले नेपालका ७४ जिल्ला प्रभावित भएका छन् । प्राकृतिक प्रकोपले मानवीय जोखिम बढाउँदै छ । उता बाढी, पहिरो, आगलागी, भुईँचालो आदि प्रकोपजन्य घटना बढिरहेका छन् ।
यी सबै जोखिमको अवस्था वर्षाकै कारण भइरहेको छ । स्वच्छ पिउने पानी र सरसफाइको अभाव भएमा वा प्रदूषण बढेमा महामारी फैलिने, खाद्यान्नको अभावमा भोकमरी वा अनिकाल लागेर कुपोषण हुने, सुख्खा मौसममा आँधीबेहरी चल्ने, आगलागी हुने र कुनै पनि समयमा भुईँचालो जान सक्ने अहिलेको मौसमी परिवर्तनको सङ्केत रहेकोले हरेक नागरिक बदलिँदा जोखिमबाट बच्नु जरुरी छ ।
भौगर्भिक बनोट, धरातलीय स्वरूप, जलवायुको वितरण जस्ता अन्तर्निहित अवस्था नै प्रकोपजन्य घटना उत्पन्न गर्ने कारक हुन् भन्न सकिन्छ । नेपालमा बाढी पहिरो, आगलागी, भुईँचालो, हिमताल विस्फोट, खडेरी, महामारी, शीतलहरजस्ता घटनाले जनधनको क्षति गर्दै आएको छ ।
आजभोलि नेपालमा बाढी प्रकोपको समस्या बढ्दै जाँदा ज्यान गुमाउनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ । तसर्थ मानव स्वास्थ्यसँगै प्राकृतिक जोखिमबाट बच्नेतर्फ अव ध्यान दिनै पर्ने भएको छ । नेपालमा अहिले पनि जोखिम न्यूनीकरण तथा पूर्व तयारीमा सरकारे पर्याप्त लगानी गरेको छैन । सरकारी चासो निकै कम देखिएको छ ।
जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था छ । नेपालमा विभिन्न खालका प्राकृतिक र मानव सिर्जित विपत्तिहरूमा परी विगत १० वर्षको अवधिमा २० हजार बढी नेपालीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
यसरी हेर्दा सरदर वार्षिक दुई हजारले प्राकृतिक प्रकोपबाट ज्यान गुमाउन बाध्य भइरहेका छन् । त्यसमाथि वर्षाजन्य तथा मौसमजन्य रोगको प्रकोपको त सन्त्रासकै अवस्था कायमै छ । प्राकृतिक तथा मानवजन्य विपत्तिको कारण आर्थिक क्षतिको समस्या पनि बढिरहेको छ ।
प्राकृतिक प्रकोपकै कारण वार्षिक कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशतसम्मको नोक्सानी हुने गरेको छ । जनसङ्ख्याको अनुपातमा नेपालमा विपदबाट हुने मानवीय क्षति विश्वमै बढ्दो क्रममा रहेको देखिएको छ । यसरी प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैँमा आर्थिक विकासमा ठुलो चुनौती हो ।
सीमित स्रोत र साधनबाट धेरै विकासका काम गर्नुपर्ने नेपालजस्तो मुलुकका लागि विपदबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सकिएन भने भोलिका दिनमा झनै चुनौती थपिने अवस्था छ । त्यसमाथि वर्षाको समयमा हुने प्रकोपजन्य घटनाले अझै चुनौती थपिएको छ ।
पछिल्लो समय प्राकृतिक प्रकोपको घटना र त्यससँगै निम्तिएको मौसमजन्य रोगका कारण चुनौती थपिएको छ । नेपालले एकसाथ आउने यी दुवै समस्या नियन्त्रण र समाधानमा चासो दिएन भने भोलिको दिनमा झनै जोखिमको अवस्था आउन सक्छ ।
अहिले मौसमजन्य प्रकोपकै रूपमा डेंगु बढेको छ । स्क्रब टाईफसले जनजीवन प्रभावित भएको छ ।
जापानी इन्सेफ्लाईलिसले चार जनाको ज्यान लिइसकेको छ । यी सबै घटना प्रकोपले निम्त्याउने चुनौती हुन । नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै जोखिमयुक्त साबित भएका छन् ।
नेपाल जलवायु परिवर्तनका हिसाबले चौथो, भूकम्पीय हिसाबले विश्वको ११ औँ तथा बाढी पहिरो लगायतका प्रकोपका हिसाबले ३० औँ जोखिमपूर्ण स्थानमा रहेको छ ।
यही तथ्याङ्कले देखाउँछ– नेपाल प्रकोपको अत्यन्त जोखिमको अवस्थामा छ । प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्ने उपाय पनि छ । तसर्थ प्राकृतिक प्रकोपको जोखिम र मौसमजन्य रोगको जोखिम न्यूतिकरणका लागि गर्नुपर्ने प्रयासमा अव ढिलाइ गरिनुहुँदैन ।
खास गरी पछिल्लो समय चुनौती बनिरहेको डेंगु, स्क्रबटाईफस, इन्सेफ्लाईटिस वर्षाजन्य प्रकोप भएकोले पूर्व सावधानी जरुरी छ ।