© २०२३
सल्यान, ४ भदौ ।
नेकपा माओवादी केन्द्रले सल्यानमा सहीद अनिता शर्माको २३ औं स्मृति दिवस मनाएको छ । कुमाख गाउँपालिका–६, बडागाउँ वेशीटोलकी शर्माको सम्झनामा बुधबार बडागाउँमा आयोजित कार्यक्रममा सहिदका आदर्श र सपनालाई जीवन्त बनाउँदै अघि बढ्न सबैमा आग्रह गरिएको छ ।
कार्यक्रमका प्रमुख वक्ता माओवादी केन्द्रका केन्द्रीय सदस्य भिमप्रकाश शर्माले सहिदले देखाएको मार्गमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । सहीदहरूले जनताको मुक्तिका लागि मात्र नभएर समृद्धिको लागि पनि जीवन सर्मपित गरेको उनले बताए ।
कर्णाली प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य समेत रहेका शर्माले सहिदहरूले बगाएको रगतको सम्मानका लागि जनप्रतिनिधिहरूले इमान्दारीपूर्वक काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहिद अनिता शर्माका बुबा हस्तु जैसीले जो सुकैले आफ्नो ज्यान दिन नसक्ने भन्दै आफ्ना सन्तानले जनताकै निम्ति रगत बगाएको बताए ।
केन्द्रका प्रदेश कमिटी सदस्य हरिप्रकाश बुढाथोकीले सामाजिक संजालमा देखिने चर्चाका पछाडी नलाग्न आग्रह गर्दै अहिलेका उपलब्धि लाई सहिदको बलिदानसंग जोड्नुपर्ने उल्लेख गरे ।
प्रदेश कमिटी सदस्य डिल्लीराज जैशीले सामाजिक संजालबाट समाज कब्जा गर्न खोजेकाहरुबाट सावधान हुनुपर्ने बताए । त्यस्तै अर्का नेता संगीत रावतले सहिदको कारण देशमा संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता स्थापना भएको बताए ।
कार्यक्रममा पार्टीका पालिका अध्यक्ष डिल्ली बहादुर राना, वडा नं ६ का वडा अध्यक्ष कर्ण बहादुर विकले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।