Butwal Today

रामग्राम बसपार्क अलपत्र: सञ्चालनमा नगरपालिकाकै छैन चासो

४ भाद्र २०८२, बुधबार
अ+
अ-

समाचार सारांश


  • नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ केरवानीस्थित परासी बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बितिसकेको छ ।

  • झन्डै ५ करोड रुपैयाँको लागतमा बनेको यो बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । 

  • नगरपालिकाले अझै पूर्वाधारको पूर्ण हस्तान्तरण भएको स्वीकार नगरेको बताइएको छ ।

  • अहिले परासीका बसहरू बाइपास चोक नजिकैको निजी जग्गामा भाडा तिरेर बस स्ट्यान्डको रूपमा प्रयोग गरिरहेका छन् ।


 

नवलपरासी, ०४ भदौ ।

दुई वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसकेको जिल्लाको सदरमुकाम परासीस्थित बसपार्क अलपत्र परेको छ । सञ्चालनमा ल्याउने कुरा चले पनि बसपार्क अझै सम्म सञ्चालन हुन सकेको छैन ।

बसपार्क सञ्चालनमा नआउँदा करोडौँको सरकारी लगानी खेर गइरहेको स्थानीयले जनाएका छन् । बसपार्क बनाउन भनेर नगरपालिकाकै आग्रहमा स्थानीयले उपयोग गर्दै आएको सार्वजनिक जग्गा बसपार्क निर्माणका लागि दिन सहमत भएका थिएनन् एक स्थानीयले भने ।

तर अहिले निर्माण भई सकेको बसपार्क दुई वर्षदेखि अलपत्र हुँदा दुःख लागेको छ । लामो समयदेखि सदरमुकाम परासीमा बसपार्क निर्माण हुनुपर्ने माग हुँदै आएको थियो । बसपार्कको सबै काम सम्पन्न भएको दुई वर्ष पुग्यो, तर किन सञ्चालनमा आउन नसकेको होला भनेर स्थानीयवासीले आश्चर्य व्यक्त गर्दै आएका छन् ।

‘बसपार्कमा अझै पनि केही काम गर्न बाँकी देखिएका छन्,’ उनले भने, ती पुरै काम सम्पन्न गरेर मात्र सञ्चालनमा ल्याइन्छ । बसपार्क नगरपालिकाले कसरी सञ्चालन गर्नेबारे पनि आन्तरिक तयारी भई रहेको बताउँदै उनले निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने कि नगरपालिकाले अन्य प्रक्रियाहरू पुरा गरेर आफै सञ्चालनमा ल्याउने निधो हुन बाँकी रहेको जानकारी गराए ।

बसपार्क निर्माण भई सकेको हुँदा जतिसक्दो छिटो सञ्चालनमा ल्याउने नगरपालिकाले काम गरिरहेको छ । छिट्टै नै सञ्चालन होस भन्ने चाहना नगरपालिकाको रहेको छ । तर केही प्राविधिक कठिनाइहरू पनि छन् । अन्य स्थानको बसपार्क सञ्चालनबारे प्रक्रियाको अध्ययन गर्ने काम पनि भइरहेका छन् ।

रामग्राम नगरपालिका वडा नं.४ केरवानी स्थित झरहीखोला किनारमा ५ करोड भन्दा बढी रकम खर्चेर निर्माण भइसकेको निर्माण कम्पनीले जनाएको हो । दुई वर्ष पहिला नै बसपार्कको निर्माण कार्य सम्पन्न गरी सहरी शाखाको जिम्मा लगाइ सकिएको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता) ले जानकारी गराएका थिए ।

उनका अनुसार बसपार्कमा बस राख्ने स्थान, कार्यालय भवन, शौचालय, कम्पाउन्ड, उद्यान, प्रवेशद्वार, सुरक्षा गार्ड कक्ष लगायतका पूर्वाधार बनिसकेको छ । सबै पूर्वाधारहरूको रंगरोदन समेत भइसकेको अवस्था छ । सहरी तथा भवन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेको जस्तो देखिएको छ ।

‘वृक्षारोपण लगायतका कार्यले बसपार्क हराभरा भइसकेको अवस्था छ,’ एक स्थानीयले भने–‘तर बसपार्क सञ्चालन नहुँदा स्थानीयलाई मर्निङवाक गर्ने स्थान, सवारी साधन चलाउने र सिक्ने स्थान र उद्यानमा भैँसी चर्ने अवस्थामा भेटाउन सकिन्छ ।

बसपार्क सञ्चालनमा नल्याउँदा सदरमुकाम परासीका बसहरू बाइपास चोक नजिकै निजी जग्गामा भाडा तिर्दै बस स्टयाण्डको रूपमा प्रयोग गर्दै आएका छन् । जसले सडकमा समेत अवरोध सृजना भई रहेको छ ।

बसपार्क सञ्चालनमा ल्याउँदा बजारमा ट्राफिक समस्या पनि समाधान हुने, नगरपालिकालाई आयस्रोतको रूपमा पनि उपयोग गर्न सक्ने अवस्था हुन्थ्यो, तर यो बसपार्क माल पाएर चाल नपाएको उख्खान चरितार्थ देखिन्छ ।

बसपार्क सञ्चालन गर्नका लागि अति आवश्यक पूर्वाधारको निर्माण गरी दुई वर्ष पहिला नै कार्यालयले हस्तान्तरण पत्रमा हस्ताक्षर गरी कार्यालयले रामग्राम नगरपालिकालाई बुझाई सकेको कार्यालयबाट नवलपरासीको साइट हेर्ने सब इन्जिनियर वीरेन्द्र मण्डलले जानकारी गराएका थिए ।

अन्य पूर्वाधार बिस्तारै बनाउँदै जाने प्रतिबद्धता समेत कार्यालयको थियो, उनले भने, तर नगरपालिकाले चासो लिएर बसपार्क सञ्चालन गर्न पर्थ्यो, तर पूर्ण पूर्वाधार नबनेको र हस्तान्तरण नभएको भन्दै सञ्चालन प्रक्रियाबाट नगरपालिका पन्छिन खोजेको समेत उनको भनाइ थियो ।

उनका अनुसार एउटा पूर्वाधार हस्तान्तरणको जिम्मेवारी नलिँदा नगरपालिकाको अर्को परियोजनालाई असर पार्न सक्छ, उनले भने, हस्तान्तरण लिएको स्वीकार नगर्नु भन्दा ती आयोजना निरन्तरता भइरहेको बुझिन्छ, जसले गर्दा अर्को आयोजना थप्नलाई प्राविधिक कठिनाइ हुन्छ, बसपार्क हस्तान्तरण नलिई सञ्चालनमा नल्याउनु नगरपालिकाकै लागि पूर्वाधार आयोजना घाटा पनि हो ।

त्यसले गर्दा यस प्रति विचार पुर्‍याएर छिट्टो बसपार्क सञ्चालनमा ल्याउनु पर्छ । अब स्थानीय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रबन्ध गरिदिनु पर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । सहरी तथा भवन कार्यालय चितवनको लगानीमा विगत पाँच वर्षदेखि काम भइरहेको थियो ।

बसपार्क नहुँदा सदरमुकाम आउने जाने बस तथा यात्रुवाहक यातायातका सवारी साधन राख्ने स्थानको समस्या देखिएको थियो । अहिले पनि बसहरू सडक छेउमै उभ्याउने गरिएको छ । यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ ।

अहिले पनि सडकको एक लेन बस तथा यातायातका साधनले नै ओगटेर बस्दा सो सडकमा आऊ जाऊ गर्ने अन्य यात्रीलाई सास्ती हुने गरेको छ । पहिला बसपार्क थिएन । बस र यातायातका साधन कहाँ राख्ने भन्ने बहना थियो । अब बसपार्क बनिसकेको छ ।

स्थानीय प्रशासन र ट्राफिक प्रहरीले पनि अब यातायात व्यवस्थापनमा चासो लिनु पर्छ ।  बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पूर्वाधार थपिएको छ । झन्डै पाँच करोड लगानीमा बनेको उक्त बसपार्क सञ्चालनमा आएन भने बसपार्क बनेको अर्थ रहँदैन ।

परासीबाट महेशपुर, भैरहवा, त्रिवेणी, काठमाडौँ, बुटवल जाने सवारीसाधनहरू छुट्टिने गर्छ । बसपार्कबाटै अब ती रुटमा चल्ने सवारीसाधनहरू छुट्ने हुँदा बजारको चोक चोकमा जम्मा भइरहेका सवारी साधन त्यहाँ रोक्न पाउँदैनथ्यो ।

बसपार्कबाट सवारीसाधन छुट्ने र आआफ्नो रुटमा जाने हुँदा धेरैजसो बजार क्षेत्र अव्यवस्थित ट्राफिक व्यवस्थापन हुने थियो । बाहिरबाट आएका सवारी साधन पनि केही समय बजारमा रोक्न पर्‍यो भने पनि समस्या हट्ने थियो ।

बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने थियो । बसपार्क सञ्चालनबारे प्रतिक्रिया दिँदै नगरपालिकाकी उपमेयर बसपार्क सञ्चालन गर्नुपर्ने आवश्यकता त देखिएको बताइन् । यसबारे आफूले नगर कार्यपालिकामा कुरा राख्ने जानकारी गराइन् ।