Butwal Today

उपसभामुख हटाउने प्रस्तावमा माओवादीको असहमति

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ३ भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयासको विरोध गरेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख हटाउन खोज्नु गम्भीर गल्ती भएको टिप्पणी गरे ।

प्रचण्डले वर्तमान सरकार गठन भएदेखि नै राम्रो कामभन्दा गल्तीहरू मात्रै गरिरहेको भन्दै आलोचना गरे ।  सामाजिक सेवामा सक्रिय, आदिवासी जनजाति समुदायकी, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त महिला नेतृलाई अनाहकमा हटाउन खोज्नु गम्भीर अन्याय भएको उनले बताए ।

उनले भने, “उहाँहरूको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो, तर यो गलत गर्दै हुनुहुन्छ ।  गल्ती गरी नै रहनुभएको छ । सरकार बनेदेखि नै गल्ती त भइरहेकै छ । एउटा महिला, आदिवासी, जनजाति, सामाजिक सेवामा लागेकी, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएकी व्यक्तिलाई हटाउने कसरत गलत छ ।  यसको हामी विरोध गर्छौं ।”

प्रचण्डले उपसभामुख रानामाथि अघिल्लो समयमा लगाइएको आरोपसमेत कपोकल्पित भएको दाबी गरे । “गरेको भन्ने केही प्रमाण छैन, त्यो खालि कपोकल्पित हो,”  उनले स्पष्ट पारे ।

यसैबीच, उपसभामुख हटाउने तयारीस्वरूप सत्तारुढ दल एमाले र कांग्रेसका सांसदहरूले हस्ताक्षर संकलन गरिसकेका छन् भने यस विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ ।