© २०२३
बुटवल, ०३ भदौ ।
बिहान सबेरै अस्पताल लाइनमा फलफूलको डोकोसँग भेटिने टीका श्रीष दुई दिनदेखि तीजको तयारीमा छिन । शनिबार व्यापार गर्दै दिदीबहिनीहरू छलफल गरे । आफ्नै अगुवाइमा तीज मनाउने दिन तोके सोमबारलाई ।
डोको–नाङ्लोको व्यापार छोडेर सोमबार उनीहरू भेला भए तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रमा । सधैँ झुत्रो कपडामा भेटिने टीका शीर्ष सोमबार भने फरक पहिरनमा थिइन् । रातो साडी र गहनामा सजिएकी उनी तीजको जमघटमा देखिन ।
सेड नं. २ मा भेला भएर सुख दुःख साटासाट, मिठा परिकारका दर खानपिन सहित नाचगानमा रमाइन । उनीहरूले यस दिन भने व्यापारबाट छुट्टी लिएर तीजको रमाइलो गरे । ‘सबैलाई तीजको रन्को भएको बेला हामी दैनिक व्यापार गर्ने दिदीबहिनीहरू पनि भेला भएका हौँ,’–श्रीषले मुस्कुराउँदै भनिन् ।
वर्षभरि सडक पेटीमा फलफूल बेच्दा हुने दुःख तीजकै कारण केही घण्टाकै लागि भए पनि खुसी र उमङ्ग दिएको उनी बताउँछिन् । नयाँ पहिरन, गीत, नृत्य र मिठो भोजनसँगै उनीहरूले सामूहिक रूपमा पर्व मनाए ।
तीजमा रमाउँदै गरेकी नम्रता टण्डन पनि धेरै खुसी थिइन । सोमबार रातो पहिरनमा सजिएर नाच्दै थिइन उनी केही समय भएपनि रमाइलो गर्दा माइतीघरको सम्झना भएको बताइन । अस्पताल लाइनमा काँक्रा, भुइँकटर जस्ता फलफूल डोकोबाट विश्राम लिएकी टण्डन चाडपर्व सबैका लागि भएको बताइन ।
‘हामीजस्ता थोरै कमाई गर्नेलाई एक दिन भए पनि तीज मनाउँदा धेरै खुसी लागेको छ,’–उनले भनिन । सडकमा डोको, नाङ्लो स्वरोजगार महिला मजदुरलाई सामाजिक एकता र सांस्कृतिक उत्सवका रूपमा तीज मिलन कार्यक्रमको महत्त्व रहेको युवा अगुवा योगेन्द्र गौतम बताउँछन् ।
तीजको अवसरमा विभिन्न सङ्घ–संस्था, क्लब र महिला समूहहरूले तीज मिलन कार्यक्रम गरिरहेका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती (वसन्त) ले गरिब जनताका लागि सरकारले सहज जीवनयापन गर्न सक्ने वैकल्पिक उपायहरू दिनुपर्ने बताएका छन् ।
सोमबार तिलोत्तमामा भएको सडक डोको, नाङ्लो स्वरोजगार महिला मजदुर तीज कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र जनताका लागि आएको भन्दै गरीबमैत्री नीतिहरूमा जोड दिन जरुरी रहेको बताए ।
स्थानीय सरकारलाई सफा र सुन्दर सहर निर्माण, कर सङ्कलन लगायत कार्यान्वयनका विषयमा चुनौतीहरू रहेको भन्दै घर्तीले स्थानीय सरकार र व्यवसायीबिच संवाद तथा समझदारीमार्फत समस्याको समाधान खोज्नुपर्ने सुझाव दिए । ‘कानुनमा देखिएका जटिलता हटाउन आवश्यक छ,’– उनले भने ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले भने स्थानीय तहको गतिविधिप्रति असन्तोष व्यक्त गरे । सडकका डोके व्यवसायीहरूलाई नगर प्रहरीहरूले लखेट्ने, सामान लगिदिने उनीहरूको गुनासो छ । त्यो सामग्री फिर्ता लिन ५ हजार रुपैयाँ जरिवाना असुल्ने गरिएको समेत उनीहरूले दुखेसो गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका इन्द्र राना, लखन युवा क्लबका सुदिप केसी, व्यवसायी अगुवा इन्द्र बिक सहभागी रहेका थिए । हाल बुटवल क्षेत्रमा करिब ५ सय व्यवसायी रहेका छन् ।