Butwal Today

मुसिकोट उप–प्रमुख श्रेष्ठले गरिन पार्टी निलम्बनको विरोध

२ भाद्र २०८२, सोमबार
अ+
अ-

 गुल्मी, ०२ भदौ ।

मुसिकोट नगरपालिका उप–प्रमुख गङ्गा श्रेष्ठले नेकपा (एमाले) गुल्मीले आफूलाई निलम्बन गरेको प्रति विरोध जनाएकी छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गरी उक्त कार्यको विरोध जनाएकी हुन ।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनबाट उप–प्रमुखमा निर्वाचित श्रेष्ठले आफूलाई साउन २१ गते पार्टीको जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको जानकारी सार्वजनिक भएपछि उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छिन ।

असार २९ गतेको निर्णयअनुसार पार्टी हित विपरीत काम गरेको भन्दै स्पष्टीकरण मागिएको र आफूले आरोप अस्वीकार गर्दै त्यसको जवाफ दिँदा समेत कारबाही गर्ने पूर्वाग्रही निर्णय गरिएको बताएकी छन् ।

श्रेष्ठले लामो समयदेखि आफू र आफ्नो परिवारले एमाले सङ्गठन र जनताको सेवामा दिएको योगदानलाई बेवास्ता गरिएको दाबी गर्दै कारबाही फिर्ता लिन समेत नेतृत्वसँग माग गरेकी छिन् । उनले नगर प्रमुख र एमाले नगर अध्यक्षबाट महिला उप–प्रमुख भएको कारण हेपाहा प्रवृत्ति देखाइएको र बजेट निर्माणमा आफ्ना जायज मागहरूलाई बेवास्ता गरिएको आरोप समेत लगाएकी छन् ।

पार्टीको जिल्ला अधिवेशनमा लोकतान्त्रिक अभ्यास अनुसार आफ्नो अधिकार प्रयोग गरेको भन्दै लगाइएका कपोलकल्पित आरोपप्रति पनि उनले असन्तुष्टि जनाएकी छिन् । एमालेलाई सङ्कटबाट जोगाउन आफूले लामो समयदेखि खेलेको भूमिकालाई नव आगन्तुक नेताहरूले नबुझेको गुनासो समेत गरेकी छन् ।

श्रेष्ठले आफू निरन्तर मुसिकोट नगरवासीको विकास, सुशासन र न्यायका लागि सधैँ लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
पार्टी हित विपरीत काम गरेको भन्दै नेकपा एमाले गुल्मीले उपप्रमुख श्रेष्ठलाई पार्टी पदाधिकारीको बैठकले एक वर्षको लागि पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।

श्रेष्ठलाई गत असार २९ गते पार्टीको पदाधिकारी बैठकद्वारा स्पष्टीकरण सोधिएको र श्रेष्ठले असार ३२ गते स्पष्टीकरण पेस गरे पनि पार्टी कमिटीले चित्त बुझ्दो जवाफ नपाएपछि कारबाही गर्नु परेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंङ् काउछाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?