Butwal Today

विद्युत प्राधिकरणको नाफामा गिरावट, हितेन्द्र भन्छन्- बिक्री दर घट्यो, खर्च बढ्यो

१ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १ भदौ ।

नेपाल विद्युत प्राधिकरणको नाफा चालु आर्थिक वर्षमा उल्लेखनीय रूपमा घटेको छ । आर्थिक वर्ष २०८१ / ८२ मा प्राधिकरणले ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले कम हो । अघिल्लो वर्ष, २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कुलमान घिसिङको नेतृत्वमा लामो समयसम्म निरन्तर रूपमा नाफा कमाउँदै आएको प्राधिकरणले उनी बर्खास्त भएपछि नाफामा गिरावट भोग्नु परेको तथ्यले देखाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी,आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् । अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुने उनको दाबी छ ।

उनकाअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ । आव २०८१/ ८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावट घण्टा विद्युत उपलब्ध भएको थियो । जसमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत रहेको थियो। स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो ।

प्राधिकरणकाअनुसार नेपालको आन्तरीक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।

प्राधिकरणको कुल सम्पती २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ। आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ । जसमा प्राधिकरण अन्तर्गतका कम्पनीका सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट छ भने २९०.५ मेगावट छ ।