© 2026
काठमाडौँ, १ भदौ ।
कर्जा लगानीमा अपेक्षित सुधार नआएपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि पनि निक्षेपमा दिइने ब्याजदर घटाएका छन् । देशभरका २० वाणिज्य बैंकमध्ये ११ वटाले साउन महिनाको ब्याजदर यथावत् राखेका छन् भने ८ वटाले आंशिक रूपमा घटाएका छन् ।
ब्याजदर घटाउने बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै कमी गरेको छ । साउन महिनामा व्यक्तिगत निक्षेपमा ६.२६ प्रतिशत ब्याज दिँदै आएको बैंकले भदौमा सो दर घटाएर ५.१३ प्रतिशतमा झारेको छ ।
यसरी स्ट्यान्डर्ड चार्टर्डले १.१३ प्रतिशतले ब्याज घटाएको हो । बाँकी सात बैंकले ०.५ प्रतिशतदेखि ०.१ प्रतिशतसम्म ब्याजदर घटाएका छन् ।
कर्जायोग्य तरलता पर्याप्त भए पनि कर्जाको माग बढ्न नसकेपछि बैंकहरू ब्याजदर घटाउन बाध्य भएका छन्। यही कारण ११ वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् भने केहीले न्यून गिरावट गरेका छन् ।
यता, प्रभु बैंकले भने भदौ महिनाका लागि ब्याजदर बढाएको छ । साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेको बैंकले भदौमा त्यसलाई बढाएर ५.३५ प्रतिशत पुर्याएको हो । यो १.१ प्रतिशतको वृद्धिका रूपमा लिइएको छ ।
समग्रमा भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर ५.५७ प्रतिशत रहेको छ, जुन साउनको तुलनामा ०.१५ प्रतिशतले कम हो । यस्तो गिरावटले आगामी दिनमा बैंकिङ प्रणालीको कर्जा प्रवाह तथा निक्षेप प्रवृत्तिमा कस्तो असर पार्ला भन्ने चासोसमेत बढेको छ ।