© २०२३
सल्यान, १९ मंसिर ।
सल्यानकै जेठो नगरपालिका जिल्ला सदरमुकाममा पर्ने शारदा नगरपालिकाले शिक्षा क्षेत्र सुधारलाई आफ्नो पहिलो लक्ष्यमा राखेको छ ।
सोमबार नगरप्रमुख प्रकाश भण्डारीले नगरको शिक्षा क्षेत्रको सुधार नै आफ्नो प्रमुख लक्ष्य भएकाले शिक्षकहरुलाई शैक्षिक कृयाकलापमा निरन्तर लागेर आफ्नो अभियानमा हातेमालो गर्न आग्रह गरे । बाल केन्द्रित शिक्षा मार्फत पठन सिपमा सुधार कार्यक्रम अन्तर्गत बिद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी तालिमको समापन कार्यक्रममा उनले भने– “शिक्षा क्षेत्र सुधारमा तपाईं हामी हातेमालो गरौं, त्यसका लागि भौतिक पूर्वाधार निर्माण संगै, तालिम, श्रोत, साधन तथा सेवा सुबिधा लगायतका विषयमा नगरपालिकाले उचित ब्यवस्थापन गर्न प्रतिबद्ध छ ।”
शिक्षा क्षेत्रमा पक्कै समस्या रहेको उल्लेख गर्दै नगरप्रमुख भण्डारीले शैक्षिक क्षेत्रलाई नियमित, व्यवस्थित, मर्यादित र गुणस्तरीय तुल्याउन सबै सरोकारवालाको प्रभावकारी पहलकदमी जरुरी रहेको बताए ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल तथा सहभागी शिक्षकहरुले आफ्नो भनाइ राखेका थिए । शारदा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा मंसिर १६ गते सुरु भएको तालिमको समापन सोमबार गरिएको हो । तालिममा नगरभित्रका ५८ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।