Butwal Today

२५० बढी थारु महिलाको सामूहिक अष्टिम्की

३१ श्रावण २०८२, शनिबार
अ+
अ-

नेपालगञ्ज, ३१ साउन ।

नेपालगञ्जमा बसोबास गर्ने थारु समुदायका महिलाहरु आज एकै ठाउँमा भेला भई अष्टिम्की (टिक्ने) पूजा गर्ने तयारीमा जुटेका छन् ।

करिब २५० भन्दा बढी थारु महिला र युवतीहरूले आफ्नो सांस्कृतिक पहिचान, एकता र गर्वलाई प्रकट गर्ने उद्देश्यले आज साँझ सामूहिक रुपमा अष्टिम्की पूजा गर्ने तयारी गरेका हुन । थारु परम्परा अनुसार कृष्ण जन्माष्टमीको दिन दिनभर निराहार ब्रत बसेका महिलाहरुले घरको भित्तामा कृष्ण भगवान, पाँच पाण्डव, द्रौपदी, हात्ती, घोडा लगायतका चित्र कोरेर त्यसैमा बेलुका पूजा गर्ने चलन छ, जसलाई ‘अष्टिम्की टिक्ने’ भनिन्छ ।

यसअघि नेपालगञ्जमा टोल वा घरपरिवारका महिला मिलेर टिक्ने चलन रहँदै आएको भए पनि यसपालि थारु महिलाहरूको एकताको सन्देश दिने उद्देश्यले सामूहिक आयोजना बनाईएको थारु कलाकार तथा होटल व्यवसायी सत्यनारायण चौधरीले बताए । महिलाको संख्या धेरै रहेकाले बेलुका ६ बजेदेखि अष्टिम्की टिक्ने कार्यक्रम राखिएको चौधरीले जानकारी दिए ।


नेपालगञ्ज–६ फुटेक्रामा बस्दै आएकी २१ वर्षीया आयशा चौधरीले भने आफू सानैदेखि नेपालगञ्जमै हुर्किएकी भए पनि थारु अष्टिम्कीको परम्परा गत वर्षदेखि मात्र बुझ्न थालेको बताइन् । नेपालगञ्जमा बाँकेका विभिन्न पालिकासहित दाङ, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारु महिलाहरु पढाई तथा जागिरको शिलशिलामा बसोवास गर्दै आएको थारु अगुवाहर बताउँछन् ।

यसरी वभिन्न जिल्लाबाट अध्ययन, जागिर र व्यवसायका लागि आएका थारु महिलाहरूको संख्या ठूलो भए पनि उनीहरूलाई संगठित गर्ने नेतृत्वको कमी रहेको थारु गायिका तथा सामाजिक अभियन्ता सुमित्रा चौधरीले बताइन् ।

यसरी नेपालगञ्जको अष्टिम्की पर्व केवल पूजापाठ मात्र नभई, थारु महिलाको एकता, पहिचान र गर्वलाई जीवन्त बनाउने सांस्कृतिक उत्सव बन्दै आएको छ । अष्टिम्कीको पूर्व सन्ध्यामा हिजो नेपालगञ्जका थारु महिलाले समूहिक दर (भिन्सर्र्या) पनि खाएर मनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?