Butwal Today

साउदी अरबबाट पनि श्रम वैधानिकीकरण सुरु

३० श्रावण २०८२, शुक्रबार
अ+
अ-
काठमाडौँ, ३० साउन ।
श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकीकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ ।
 नेपाली दूतावास रियादले आज एक समारोहको आयोजना गरी आठ वर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिई राजदूत डा.नरेश विक्रम ढकालले श्रम वैधानिकीकरणलाई औपचारिकता दिएका छन् ।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकीकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिए ।
श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरू आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको जानकारी दिए ।
साउदी अरबसँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले अबको सेवाहरू प्रविधिमा आधारित रहने जानकारी दिए ।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्‍चित भएकोले दूतावासबाटै श्रम वैधानिकीकरण कार्य आवश्यक रहेको औँल्याए ।
राजदूत डा. ढकालले श्रम वैधानिकीकरण गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरूको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन् ।