© २०२३
भैरहवा, ३० साउन ।
पश्चिम तराईमा सन्तानको दीर्घायुको कामना सहित मनाइने पर्व तिनछठ्ठी उल्लासमय वातावरणमा मनाइँदै छ । भैरहवा सहित यस आसपासका क्षेत्रहरू धकधई, बेथरी, मर्चवार लगायतमा व्रतालु महिलाहरूले यो पर्व मनाइरहेका छन् । महिलाहरू समूहमा जम्मा भई नजिकैको खोलामा स्नान गर्ने र सामूहिक रूपमै कुशको पूजा गरी यो पर्व मनाइरहेका छन् ।
श्री कृष्ण जन्माष्टमीको अघिल्लो दिन मनाइने यो पर्व विशेषतः कुशको पूजा गरी सुरु हुन्छ । महुवाको पातमा महुवाको फल, दही, गिन्नीको चामल लगायत राखी महिलाहरू सामूहिक रूपमा नजिकै रहेका स्थानहरूमा गई कुशको पूजा गर्ने गर्दछन् । त्यसपछि सन्तानलाई दही, तिन्नीको चामल, महुवाको पल लगायतकै टिका लगाई प्रसाद खान दिन्छन ।
दिउँसोमा सामूहिक रूपमै बसेर विभिन्न कथाहरू श्रवण गर्ने र गिन्नीको चामलले पकाएको भात खाने गरेका छन् । व्रतमा प्राकृतिक फलफूल, पकवानहरू, दही, महुवा, साग र गिन्नीको चामलको भात लगायतका सामग्री प्रसादको रूपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाकै दातुनले दाँत माझ्ने गरिन्छ ।
यसै तिथिमा भगवान श्री कृष्णको दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकोले खेतमा उब्जिएको वा हलोले जोतेर उब्जाएको कुनै पनि अन्न खानु हुँदैन भन्ने मान्यता रहेको छ ।