Butwal Today

अवरुद्ध रिडी‐तम्घास सडक सुचारु

२९ श्रावण २०८२, बिहीबार
अ+
अ-

गुल्मी, २९ साउन  ।

लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडक सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि बिहीबार बिहानबाट सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

वर्षाद रोकिएपछि उक्त क्षेत्रमा सडक निर्माणको काम गरिरहेको निर्माण कम्पनीले एक्स्काभेटर माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन ।

सडक अवरुद्ध बनेपछि रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानी टङ्कीबाट थोर्गाहुँदै सालबिसौनाको वैकल्पिक सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको थियो । मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र ईलाईट कम्पनीद्वारा २५ किलोमिटर सडक फराकिलो र कालोपत्रको काम भैरहेको छ ।

बर्षादका कारण खोलानाला बढेपछि बडिगाड खोला र कालीगण्डकी नदी किनारमा पनि पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा वसोवास गर्न आग्रह गर्दै आईरहेको छ ।