Butwal Today

सीमाक्षेत्रमा चोरी तस्करी मौलाउँदै

२९ श्रावण २०८२, बिहीबार
अ+
अ-

समाचार सारांश

  • नवलपरासीको सीमावर्ती नाकाहरूमा साइकल र मोटरसाइकल प्रयोग गरेर स-साना तस्करी गतिविधि बढिरहेको छ ।

  • घुमुवा प्रहरीहरू सूचना संकलनभन्दा बढी तस्करहरूसँग मिलेर सेटिङ मिलाउने काममा संलग्न भएको आरोप ।

  • अधिकांश तस्करहरू स्थानीय राजनीतिक कार्यकर्ता भएको र उनीहरूले घुमुवाको नियुक्ति राजनीतिक पहुँच प्रयोग गरी गराउने गरेका छन् ।

 

नवलपरासी, २९ साउन । 

जिल्लाको सीमावर्ती विभिन्न नाकाहरूमा मोटरसाइकल र साइकल मार्फत चोरी तस्करी बढेको स्थानीयले आरोप लगाएका छन् । ठुलो गाडीमा तस्करी कम भए पनि प्रहरीसँग सेटिगँमै ती तस्करीहरू भइरहेको स्थानीयको भनाइ छ । घुमुवा प्रहरीहरूको सेटिङमा सिमाक्षेत्रमा तस्करी मौलाउन थालेको सीमावर्तीका एक स्थानीयले बताए ।

प्रहरीलाई सूचना दिनका लागि खटाइने गरिएका घुमुवा प्रहरी सूचना भन्दा तस्करसँग सेटिङ गर्ने र प्रहरी र पत्रकारको लाइन खर्च उठाइदिने गरेको पाल्हीनन्दन गाउँपालिका ६ रगरगँजका एक स्थानीयले बताए । साइकल र मोटरसाइकलमा मालसामान ओसार्नेहरूसँग हाम्रै आँखा अगाडी प्रहरीका घुमुवाले प्रहरी चौकी, इलाका, जिल्लासम्म खर्च पु¥याउनु पर्छ, भन्दै रकम उठाएका थिए ।

केही रकम पत्रकारलाई पनि दिइनु पर्छ, भन्दै रकम थपेर समेत असुलेको उनले दाबी गरे । सबै पत्रकार एकै नासको हुँदैनन्, तर सीमा क्षेत्रमा केही पत्रकार नियमित आउने र घुमुवा मार्फत तेलपानी खाजा खर्च भनेर घुमुवाहरू मार्फत रकम लिँदै आएका छन्, उनले दाबी गरे, सीमावर्ती किसानले आफ्ना घर खर्चका लागि माल बस्तु ल्याउँदा केरकार गर्ने प्रहरीहरू ठाउँ ठाउँमा बसेर त्यस्ता मोटरसाइकलमा ओसार्ने माल बस्तुलाई रुजु समेत गर्ने गरेका छन् ।

लाइन खानेको मोटरसाइकल नम्बर उनीहरूसँग हुन्छ, उनले आश्चर्य व्यक्त गर्दै भने, मोटरसाइकलको नम्बर रुजु गर्दा यदि तस्करले नटिपाएको गाडीलाई रोक्ने र चलान गर्ने तर प्रहरीकै अगाडीबाट लाइन तिरिएका मोटरसाइकल धमाधम जाँदै गर्दा केही नगर्ने अवस्था देखिएको छ ।

यो रगरगँज सीमा क्षेत्रको कुरा मात्रै होइन, सुस्तासम्मकै सीमा क्षेत्रमा घुमुवाले प्रहरी र पत्रकारका लागि रकम उठाई दिइने गरेका छन् । मोटरसाइकलमा तस्करी गर्ने अधिकांश राजनीतिक दलका कार्यकर्ताहरू नै छन् । उनीहरूले जिल्ला स्तरका नेताको पहुँच पु¥याएर घुमुवा नियुक्त गराउने र आफ्ना तस्करी कार्यलाई निरन्तरता दिँदै आएका छन् । अहिले जिल्लामा यादवहरू जनप्रतिनिधि छन् ।

घुमुवामा पनि प्रायः यादवहरूले नै जिप्रकामा सेटिड्ड मिलाएको दाबी उनको थियो ।  उनका अनुसार घुमुवामा अहिले जनार्दन यादव, सावर यादव, ओमप्रकाश यादव, रामप्रसाद यादव, रमेश यादव, राजाराम यादव, वीरेन्द्र यादव रहेका छन् । तस्करीमा संलग्न तस्करहरूमा हरिचन्द्र कपडाको ठुलो तस्करी गर्दै आएको उनले सुनाए । उनीसँगै दूर विजय यादव,सानु पाल,अशोक रौनियार,सञ्जय,मिजु,महेन्द्र नाम गरेका तस्करहरू सक्रिय रहेको दाबी गरेका थिए ।

कपडासँगै काजु,किसमिस,बदाम,चिनी,मेसिनरीका समानको तस्करी हुँदै आएको छ । तस्करीका माल बस्तु मोटरसाइकलमै हुलाकी राजमार्ग र पूर्वपश्चिम महेन्द्र राजमार्गसम्म पुर्‍याउने र त्यहाँका गोदामहरूमा भण्डारण गरी राख्ने गरिएको छ । स्थानीय केही सप्लायर्र्स फर्मको बिल काटेर काठमाडौँ,पोखरासम्म पुर्‍याउने गरिएको छ ।

तस्करीको पुष्टयाई महेशपुर भन्सारको मुद्दाले पनि गरेको देखिन्छ । भन्सारले भन्सार रकम भन्दा प्रहरीको मुद्दाबाट राजस्व सङ्कलन हुने रकम बढी देखिएका छन् । सेटिगँ बाहेकका प्रहरीको रुजुमा नपर्ने माल बस्तु प्रहरीले बरामद गर्ने र भन्सार पठाउने गरेको छ । गत आर्थिक वर्षमा मात्रै सशस्त्र प्रहरीले ३ सय ४० वटा बाल बस्तु बरामद गरी मुद्दा भन्सारमा पठाएको थियो । जसमा ५ करोड ७४ लाख,५ हजार २ सय ९७ रुपियाँ बराबरको बिगो दाबी गरिएको छ ।

त्यसै गरी नेपाल प्रहरीले पनि २ सय ५१ वटा यस्ता तस्करीका मुद्दा भन्सार पठाएको थियो । सो मुद्दामा पनि ४ करोड ९६ लाख ७२ हजार ६ सय ४ रुपियाँ रहेको छ । भन्सार कार्यालयले आफैले बरामद गरिएका मुद्दा पनि छन् । कुल ५ सय ९४ वटा रहेका छन् ।

जसबाट १० करोड ७१ लाख २५ हजार ७ सय ९१ रुपियाँ मुद्दामा दाबी गरिएको रकम हुन् । जबकि महेशपुर भन्सारले गत आर्थिक वर्ष भरिमा यी मुद्दा सहित कुल १६ करोड ६६ हजार ८ सय ८० रुपियाँ भन्सार राजस्व उठेको भन्सारको तथ्याङ्कले देखाउँछ ।