सल्यान, २७ साउन ।
स्थानीय सरकारसँग युवाको सहकार्य प्रभावकारी बनाउनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा कार्यशाला तथा गोलमेच गोष्ठी सम्पन्न भएको छ । युवाहरुलाई गाउँपालिकाका विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै सक्षम र जिम्मेवार नागरिक बनाउने लक्ष्य अनुरुप मंगलबार गोष्ठी सम्पन्न भएको हो । गाउँपालिकामा युवामैत्री नीति तथा कार्यक्रम निर्माणमा सक्रिय सहभागिता बढाउने र समुदायमा दिगो तथा सकारात्मक परिवर्तन ल्याउनका लागि भन्दै दिगो भविष्यका लागि युवा परियोजना सञ्चालनमा छ । दलित विकास समाज सल्यान र प्राविधिक सहयोगी संस्था युवालयसँगको सहकार्यमा सञ्चालित यो परियोजना अन्तिम चरणमा पुगेकोले यसको उपलब्धि, अनुभव र आगामी सम्भावनाबारे छलफल गर्न गोलमेच आयोजना गरिएको हो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले युवाहरुलाई सही अवसर र मार्गदर्शन दिन सकियो भने समाजको विकासमा महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले युवा पुस्ता कुनै समाजको मेरुदण्ड भएको भन्दै नेतृत्व, सीप विकास र सामाजिक जिम्मेवारीको अभ्यास गर्ने अवसर दिएमा सकारात्मक प्रभाव पर्ने बताए ।
युवाहरुलाई युवा छायाँ सरकारको अभ्यास, सामाजिक, आर्थिक तथा जलवायु न्याय प्रवद्र्धन, नेतृत्व विकास, नीति सम्बन्धी संवाद, सीपमूलक तालिम, अन्तरक्रिया, ध्यान, सरकार, युवा मेला तथा प्रयोगशाला सहितका गतिविधिहरूमा परियोजनाले संलग्न गराउँदै आएको युवालयका कार्यक्रम संयोजक विद्या विष्टले बताइन ।
कार्यक्रममा युवा प्रतिनिधी आरोही अधिकारीले सहजीकरणको भुमिका निर्वाह गरेकी थिइन भने गाउँपालिकाका युवा क्लब पदाधिकारी, दलित विकास समाज सल्यानका प्रतिनिधि, युवालयका प्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रतिनिधि, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।