© 2026
नवलपरासी, २६ साउन ।
जिल्लाको दोश्रो बालमैत्री नगरपालिका घोषणा गरिएको रामग्राम २ स्थित पवन माविमा एक शिक्षकको पिटाईले छात्रा वेहोस भएकी छिन् । प्रश्न सोध्दा उत्तर नदिइएको झोकमा सोही विद्यालयका शिक्षक शिवसागर गिरीले कक्षा ७ मा अध्ययनरत रामग्राम २ हाटबजार टोलकी १७ बर्षीया रुक्साना खातुनलाई पिट्दा उनी बेहोस भएकी हुन् ।
बेहोसपछि उनलाई उपचारका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि लगिएको र अहिले उनको अवस्था ठिक रहेको उनका बाबु अब्दुल मुसलमान(सुकई) ले बताए । पिटाईले छात्रा बेहोस भए पछि शिक्षक गिरीले अभिभावकलाई खबर गरेर बोलाएका थिए ।
परिवारका सदस्य आएपछि उनलाई उपचारका लागि लगिएको थियो । गिरी सरले पहिला छोरालाई पनि पिटाई गरेको र अहिले छोरीलाई पनि पिटेको उनकी आमाले गुनासो गरेकी थिइन् । शारीरिक रुपमा चोटपटक नदेखिए पनि छात्रालाई मानसिक त्रास देखिएको परिवारिक स्रोतले जनाएको छ । छात्रालाई आफूले सिकाईको क्रममा पिठ्युमा एक झापड समान्य तरिकाले हानेको तर कुनै दण्ड दिने नियतले आफूले नहानेको उनले अस्पतालमा उपचार गराउने क्रममा स्वीकार गरेका थिए । छात्राको उपचार खर्च उनले आफै ब्यहोरेको परिवारले जनाएका छन् ।
दण्ड रहित शिक्षाको मूल्य मान्यता विपरित शिक्षक गिरीले कार्य गरेको भन्दै नागरिक समाजले ध्यानाकर्षण गराएको छ । विद्यार्थीको भावना अनुकूल वातावरण तयार गरी अध्यापन गराउनु पर्नेमा पुरानै परम्परा अनुसार पिटेरै सिकाउने मान्यता अझै पनि रामग्रामका विद्यालयमा देखिएको नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए ।
अझै रामग्राम नगरपालिका विगत बर्षमै जिल्लाको दोश्रो नगरपालिका घोषणा भएका छन् । घटनाबारे प्रतिकृया दिदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विन्द्रेश हरिजनले आफू बाहिर रहेको र आएपछि विद्यालयमा सो घटनाको अनुसन्धान गरिने बताए ।
“गिरी सरको पहिला पनि गुनासो सुनिएको हो”–उनले भने, “विद्यालयमा बैठक बसेर छलफल गरी निकास निकालिने छ ।” यता नगरपालिकाकी उपप्रमुखा सम्झना चौधरीले घटनाबारे आफूलाई जानकारी नभएको बताइन् । बालमैत्री नगरपालिका हो, पिटेर सिकाउने मान्यता राख्न नहुने उनको भनाई थियो ।