© २०२३
सल्यान, २६ साउन ।
सल्यान कपुरकोट गाउँपालिकाका पाँच जना वडाध्यक्षहरूले व्यावसायिक रूपमा बेमौसमी जातको तरकारी तथा फलफूल खेती गर्दै आएका छन् ।
जनसेवा तथा विकास निर्माणका कामसँगै व्यावसायिक तरकारी खेतीबाट उनीहरूले मनग्ये आम्दानी गर्दै अरू किसानहरूको समेत प्रेरणा बनेका हुन् ।
वडा नं. १ का वडाध्यक्ष बालाराम खड्काले आफ्नो माथिल्लो बारीको आठ रोपनी र तल्लो बारीको चार रोपनी गरेर जम्मा १२ रोपनी क्षेत्रफलमा बेमौसमी ताजा तरकारी खेती गरेका छन् । “दुई–चार रोपनीबाट सुरु गरेको हुँ ।
अहिले तरकारी खेतीलाई बिस्तार गर्दै लगेको छु”, उनले भने, “तरकारी बिक्रीबाट मूल्य राम्रो भएको सिजनमा ११ लाखसम्म र भनेजस्तो भाउ गएन भने सात लाखसम्म आम्दानी हुन्छ ।” वडा कार्यालय तथा नागरिक सेवाको काम बाहेक तरकारी बारीमा बिहान बेलुकी दुई-दुई घण्टा काम गर्ने गरेको खड्काको भनाइ छ ।
अरू तीन जनाले पनि वडाध्यक्षको तरकारी बारीमा दैनिक रोजगारी पाएका छन् ।कपुरकोट गाउँपालिकाका वडाध्यक्षहरू गाउँ विकासका योजना मात्र होइन आफ्नै पाखो बारीमा व्यावसायिक तरकारी खेतीमा समेत व्यस्त छन् ।
गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाध्यक्षहरू आफैँ खेतबारीमा पसिना बगाउँदै गाउँमा आत्मनिर्भर कृषि अभ्यासको उदाहरण बन्न थालेका छन् । वडा नं. ४ का वडा अध्यक्ष मित्र कठायतले पनि विगत १० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।
“मैले करिब करिब ८ रोपनी जग्गामा खेती गर्दै आयको छु । विशेषगरि काउली, बन्दा, टमाटर, खुर्सानी खेती गरिन्छ”, उनले भने, “वार्षिक ५ लाख सम्म आम्दानी हुन्छ । वैशाख महिनादेखि मङ्सिर सम्म बेमौसमी तरकारी लगाउँछौँ ।”
जनप्रतिनिधिहरू आफैँ खेतबारीमा लागेपछि गाउँका अन्य किसानहरूलाई पनि व्यावसायिक खेतीतर्फ प्रेरणा मिलेको पाइएको छ । कपुरकोट–२ का वडाध्यक्ष ईश्वर बुढाले आफ्नो ठाउँको माटोको विशेषता नै तरकारी खेती फस्टाउने भएकाले व्यावसायिक रूपमा लागेको बताए ।
“शनिबार र सार्वजनिक बिदाको दिनमा नागरिकका काम नपरेको बेला मैले तरकारी बारीमा पुरै दिन काम गर्छु ”, उनले भने, “अरू दिनमा साँझ बिहान खेतीका लागि समय दिन्छु । वार्षिक छ लाखसम्म आम्दानी हुन्छ ।”
वडा नम्बर ३ का अध्यक्ष प्रदीप खड्का, वडा नं. ५ का वडाध्यक्ष होमराज खड्का पनि व्यावसायिक रूपमा तरकारी खेतीमा व्यस्त छन् । बेमौसमी तरकारी खेतीका लागि देशमै प्रख्यात कपुरकोट क्षेत्रमा जनप्रतिनिधिहरूसँगै अन्य किसानहरूले समेत मनग्ये आम्दानी गर्दै आएका छन् ।
“हाम्रो क्षेत्रमा २०६०–०६१ देखि नै तरकारी खेती सुरु भएको हो”, वडा नं. ५ का वडाध्यक्ष खड्काले भने, “मैले पनि नौ रोपनीमा खेती गरेको छु । कहिलेकाहीँ भाउ नजाँदा समस्या हुन्छ । नत्र भने सात लाखसम्म बचत हुने गरेको छ ।”
वडा नं. ३ का अध्यक्ष प्रदीपले पनि टनेलमा तरकारी खेती गर्दै आएका छन् । “चार वटा टनेल र टनेल बाहिर पनि काँक्रा, काउली लगायतका तरकारीहरू फलाउने गरेका छौँ । विशेष गरेर २०५२ सालदेखि खेती सुरु गरेका हौँ”, उनले भने ।
परम्परागत कृषिलाई व्यवसायीक रूप दिँदै कपुरकोट क्षेत्रका वडा अध्यक्षहरू र अरू किसानहरू कृषि प्रवर्द्धनमा जुटेको देख्न सकिन्छ ।
वडाध्यक्षको अग्रसरताले किसानहरूमा आत्मविश्वास बढेको छ ।
यस्ता प्रयासका कारण विदेश गएका केही युवा पनि गाउँ फर्केर व्यावसायिक खेतीमा लाग्ने गरेका छन् । कपुरकोट गाउँपालिकाले पनि व्यावसायिक खेतीलाई प्राथमिकता दिँदै सोही अनुसारको नीति तथा कार्यक्रम लागू गरेको छ ।
वि.सं. २०४७ सालदेखि नै बेमौसमी ताजा तरकारी एवं फलफूल खेती हुँदै आएको कपुरकोट क्षेत्रमा हाल आएर करिब तीन हजार घरधुरीका किसानले व्यावसायिक रूपमा खेती गर्दै आएको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।
देशकै ठुला तरकारी बजारहरू मध्ये पर्ने कपुरकोट तरकारी हाटबजारमा ताजा तरकारी र फलफूल खरिदका लागि विभिन्न सहर बजारबाट व्यापारीहरू आउने गर्दछन् ।
कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्दछ भने गाउँपालिकाकै सितलबजार र बगालेमा पनि अन्य बारमा बजार लाग्ने गरेको छ ।