© 2026
नेपालगन्ज, २३ साउन ।
भारतीय सीमा क्षेत्र रुपइडिहामा बिहीबार भेटिएको बेवारिसे शव बाँके कोहलपुरका युवा अरुण वर्णवालको भएको पुष्टि भएको छ । सामाजिक सञ्जालमा शवको भिडियो हेरेपछि मृतकका बहिनी प्रभा वर्णवालले बायाँ हातमा ‘अरुण’ लेखिएको ट्याटुका आधारमा आफ्नै दाजु भएको पहिचान गरेकी हुन् ।
उनले फोनमार्फत भारतीय प्रहरीसँग सम्पर्क गरी शवको पहिचान गरेपछि प्रहरीको समन्वयमा परिवारलाई बोलाइएको थियो । कोहलपुर नगरपालिका–८, पिपिरी झण्डहवाका परिवारका सदस्यहरू शुक्रबार भारतीय प्रहरीको सम्पर्कमा रुपइडिहा पुगेका थिए । त्यसपछि शवलाई पोस्टमार्टमका लागि बराईच पठाइएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरी सब–इन्स्पेक्टर राहुल सरोजका अनुसार मृतकको अनुहारमा चोटपटकका दाग देखिएका छन् र मृत्यु एक–दुई दिनअघि भएको हुनसक्छ । उनले मृतक नशाको कुलतमा परेको आशङ्का समेत व्यक्त गरे ।
भारतीय प्रहरीले बिहीबार अन्दाजी २६ वर्षको युवकको शव भेटिए लगत्तै नेपाली नागरिक भएको अनुमान गर्दै जमुनाहा नाकामा खटिएका नेपाल प्रहरीलाई जानकारी गराएको थियो । इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज उपेन्द्र बुढाथोकीका अनुसार मृतकका परिवार बिहानीपख नै कोहलपुरबाट रुपइडिहा गएका थिए, तर शव लिएर अझै नेपाल फर्किएका छैनन् ।