© 2026
बुटवल, २३ साउन ।
रुपन्देहीका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग विद्यार्थीहरूलाई प्रत्यक्ष जोड्ने उद्देश्यका साथ शुक्रबार बुटवलमा ‘शिक्षा एक्स्पो’ सम्पन्न भएको छ । बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा गरिएको एक्स्पोमा रुपन्देहीका १३ कलेजहरु सहभागी भएका छन ।
करेन्ट नुडल्सको सहयोगमा करियर गाईडको आयोजनामा बुटवलमा भएको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका शिक्षाबिद दल बहादुर गुरुङले विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्ने स्वदेशमा नै राम्रो कलेजहरु पर्याप्त रहेको बताए । नेपालमा नै १४०० बढी कलेजहरु छन् । जहा ३ लाख ५० हजार विद्यार्थी पढाउन मिल्ने भएपनि केवल दुई लाखले पढ्ने गरेको तथ्याक उनले दिए । ‘नेपालमै पढ्नुपर्छ ।’–उनले भने । सरकारबाट पढ्दै कमाउँदै जस्ता शैक्षिक कार्यक्रम र योजना ल्याईएको समेत उनले सुनाए ।
कार्यक्रममा समाजसेवी चुन्नूप्रसाद पौडेलले नेपालकै कलेजको सक्षमता बुझाउने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा करियर गाईडका लुम्बिनी प्रदेश अध्यक्ष जिवन पाण्डेले प्लस टु लक्षित गरि गरिएको एक्स्पोमा १३ कलेजका स्टलहरु राखिएको बताए । शिक्षाकै लागि ठुलो संख्यामा युवा र रकम समेत बाहिरिरहेको भन्दै उनले यसलाई रोक्न जरुरी रहेको बताए । एक्स्पोमा इञ्जिनियरिङ, म्यानेजमेन्ट, स्वास्थ्य विज्ञान, सूचना प्रविधि, कृषि, होटल म्यानेजमेन्ट लगायतका विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम प्रस्तुत गरिएको थियो । सहभागी संस्थाहरूले विद्यार्थीहरूलाई पाठ्यक्रम, शुल्क, छात्रवृत्ति, करियर गाइडलाइन लगायतका जानकारी दिएका थिए ।