© २०२३
सल्यान, २२ साउन।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित भेरी नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव सडेको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहान करिब ९ः०० बजे स्थानीय बासिन्दाले नदी किनारमा क्षतविक्षत अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी नायब निरीक्षक धन बहादुर नेपालीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमा बेवारिसे अवस्थामा रहेको शव फेला पारेको थियो।
शवको अवस्था हेर्दा नदी वा पानीमा लामो समयदेखि रहेको अनुमान गरिएको छ। शरीरको माथिल्लो भाग पूर्ण रूपमा नष्ट भइसकेको छ भने तल्लो भागसमेत सडेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। शवमा किरा लागेको, छालाको रङ फेरिएको र शरीर फोहोरले ढाकिएको अवस्थामा फेला परेको खत्रीले जानकारी दिए।
शवको पहिचान हालसम्म खुल्न सकेको छैन। मृतकको नाम, थर तथा वतन अज्ञात रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए।