© २०२३
पछिल्लो समय महिलाहरूमा परिवर्तनको लहर चलेको छ । त्यो परिवर्तन जसले महिलाहरूलाई चुलो चौकाबाट धेरै माथि उठाएको छ र आत्मनिर्भरताको बाटोमा अग्रसर बनाएको छ । महिलाहरू राजनैतिक क्षेत्रमा मात्रै होइन, समाजका धेरै गोरेटोहरूमा उनीहरू निखारिदै, परिपक्व हुँदै अगाडी बढिरहेका छन । केही महिलाहरूले गरेको संघर्ष सुन्दा अरू हजारौं महिलाहरूलाई प्रेरणा बन्ने गरेको छ । त्यही प्रेरणाको श्रोत बन्दैछिन– पाल्पाको बगनासकाली गाउँपालिका पोखराथोकमा जन्मिएकी मिना पन्थी रेग्मी ।
उनी हाल रूपन्देहीको भैरहवामा स्थायी वसोवास गर्दै आएकी छिन् । शैक्षिक उद्यममा संलग्न भएर सिद्धार्थ नगरपालिका भैरहवामा ओमसाई नर्सिङ्ग कलेज संचालन गरेर २९ जनालाई प्रत्यक्ष रोजगार दिएकी छिन । ति मध्ये २७ जना महिला कर्मचारी रहेका छन् । सफल उद्यमीकारूपमा परिचित उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय देखिन्छिन ।
हाल उनी लायन्स डिष्ट्रिक ३२५ को सेकेण्ड भाइस गभर्नर पदमा नेपालकै पहिलो महिलाकारूपमा नेतृत्व गरिरहेकी छिन् । उनले नर्सिङ्ग कलेजबाट छोरी पढाउ अभियानसंगै यता लायन्सबाट आफू गर्भनर हुदैगर्दा लायन्समा आवद्ध र सामाजिकरूपमा पछि परेका सबै महिलाहरूलाई सिप, उद्यमसंग जोड्दै महिलाहरूलाई आर्थिकरूपमा सशक्त बनाउने संकल्प लिएको देखिन्छ । सफल उद्यमी महिलाकारूपमा आफूलाई परिचित गराँउदै गर्दा उनको जीवनमा लुकेको संघर्ष झल्किन्छ । बाल्यकाल अत्यन्त सुन्दर, स्वतन्त्र र रमणीयपलमा वितेको थियो ।
आर्थिक रूपमा मध्यम वर्गीय भएपनि शिक्षित परिवार जन्मिएकाले होला त्यतिबेलाको समयमा पनि खान, लगाउन, पढ्न, बोल्न सबै प्रकारको सुविधा थियो । उनका बुवा विनोद रेग्मी राजनीतिक गर्थे भने आमा तुलसीदेवि रेग्मी सामुदायिक विद्यालयमा शिक्षक पेशामा सम्लग्न थिईन । चार सन्तान मध्येकी जेठो सन्तानको रूपमा जन्मिएकी मिनालाई आफ्ना बुवा राजनीति पृष्ठभूमिका भएका कारण पढाईसंगै सानै उमेरमा राजनीतिलाई मसिनो गरि बुझ्ने मौका मिल्यो । आमानै शिक्षक भएका कारणले पनि घरमा पढ्नुपर्छ भन्ने वातावरण थियो ।
बुवाले राजनीति गर्ने घरमा पाहुनाको खाली नहुने, घर, समाज, विद्यालय अनि हाम्रो स्याहार गर्दा आमाको त्यो बेलाको सघर्ष देख्दा मिनालाई पनि पढ्नुपर्छ र समाजका लागि केहि गर्नुपर्छ भन्ने दृढ इच्छा थियो । घरको सामाजिकपन, कुराकानी गर्न खुला वातावरण, छोरीलाई सबै कुराको स्वतन्त्रता थियो ।
विद्यालयमा हुने वक्तृत्वकला, लोकगित, भाषणकला हरेक गतिविधिमा सधैं प्रथम हुने छोरीको पढाईप्रतिको लगाव, संस्कार र सामाजिक भावना देखेर गाउँभरी मेरी छोरीलाई इन्दिरा गान्धी बनाउने हो भनेर भनेको बुवाको भनाई उनले अहिले पनि सम्झिरहन्छिन् ।
आमाले स्कुल पोशाक लगाएर विद्यालय जान लाग्दा घरमा पाहुना आएपछि हतारहतार खाना पकाएर जानुहुन्थ्यो । उनलाई अचम्म लाग्थ्यो अनि बुवालाई सोध्ने गर्थिन किन यतिधेरै मान्छेहरू हाम्रोमा मात्रै आउनुहुन्छ भनेर । उनका बुवाले भन्नुहुन्थ्यो– नेपालमा प्रजातन्त्र, जनताको बहुदलीय व्यवस्था ल्याउनुपर्दछ अनि सबैले स्वतन्त्रता पाउँछन ।
बुवा नेपाली कांग्रेस समर्थक भएका कारण बीपीका विचार र सिद्धान्तमा आधारित धेरै पुस्तकहरू घरमा थिए । मिनाले फुर्सदको समयमा पढ्ने गर्थिन । यसैले होला सधैं सबैलाई दिन पुगोस् भन्ने भावना मिनामा देखिन्छ । सानै उमेरमा साथीहरू बनाउने, सामाजिक काम गर्ने र समस्यामा परेका साथीहरूलाई सक्दो सहयोग गर्ने, छोरी मान्छेको वाक स्वतन्त्रता, भोट हाल्ने र उम्मेदवारका रूपमा चुनावमा उठ्ने अधिकार पाउनुपर्छ भन्ने पक्षमा समूह बनाएरै पैरवी गर्थिन ।
नेपाली कांग्रेसका नेताहरू चन्द्र भण्डारी, राजेन्द्र गोपाल सिंह, बिधान श्रेष्ठ मिनाको घरमा जाने, राजनीतिक योजना बनाउने, काम गर्ने गर्दा उनीमा पनि एक खालको राजनीतिक प्रभाव परेको थियो र उनै नेताबाट जयनेपाल भन्न मिनाले सिकेकी थिईन् । मध्यम वर्गको परिवारमा जन्मिएकी मिनाको परिवार शिक्षित भएका कारण छोरीलाई राम्रो काम गर्नका लागि स्वतन्त्रता थियो ।
जीवन सधै एकनासको अनि आफूले सोचेजस्तो कहाँ हुन्छ र ? एसईईसम्म अध्ययन गरेपश्चात मिनाको जीवनले पनि अर्को मोड लियो । आज भन्दा ३० वर्ष अगाडि छोरीहरूलाई एसएलसी सम्म पढाएपछि अव उमेर भयो विहे गरिदिनुपर्छ भन्ने मान्यता थियो । त्यहि मान्यतामा अर्घाखाँचीको पाणिनीबाट कपिलबस्तुको बरवा भन्ने स्थानमा बसाईसराइ गरेर आएका सबै शिक्षित परिवार पेशाले बैंकर स्वर्गीय राजेन्द्र पन्थीसंग विवाह भएको थियो ।
भनिन्छ नि कोहि व्यक्तिलाई बुझ्न वाहिरी रूप, परिवार हेरर हैन संगत गरेपछि मात्र उसको भित्री आचरण बुझिन्छ भने जस्तै मिनाका परिवारले सोचेजस्तो श्रीमानको व्यवहार थिएन । जसले गर्दा जव विहे भयो अनि उनका संघर्षका दिनहरू सुरु भए । मिना पढ्लेखेकी थिईन, चलाख थिईन् र कसैले उनीप्रति गरेको व्यवाहर कस्तो प्रकारको हो भनेर आफै पहिचान गर्न सक्दथिईन् ।
विहे भएको सुरु दिनमा नै उनको मनमा लागेको थियो, यो पुरुषसंग मेरो जिन्दगी सहज हुँदैन भनेर । विवाह सम्झदारीमा गरिन्छ– जहाँ माया, प्रेम, सदभाव झल्किएको हुन्छ । त्यो महसुस उनले आफ्नो श्रीमानबाट कहिल्यै पनि पाइनन् । पाइन त केवल रुखो वचन, मानसिक हिंसा, शारिरीक हिंसा तर पनि ति सबै सहेर माईती परिवारको इज्जत सम्झेर चुपचाप बस्न वाध्य भईन् ।
हिंसा के हो ? महिलालाई कतिसम्म अप्ठ्यारो पर्छ ? श्रीमान ठिक नभएपछि परिवारले कसरी हेर्छन ? श्रीमान नहुँदा र हुँदाको अवस्था कस्तो हुन्छ भन्ने सबै अनुवभव मिनाले १७ वर्षदेखि २८ वर्षको उमेरमा अनुभव गरिसकेकी थिईन् । उनी २८ वर्षकी हुँदा उनका श्रीमान राजेन्द्र पन्थीको लिभर केन्सरका कारण ब्रह्मलिन भएका थिए । जति हिंसा गरेपनि यो मनले अहिले पनि मेरो श्रीमान बाँच्दिएको भए हुन्थ्यो भन्ने उनको मनमा अझै माया छ ।
जतिसुकै चुनौती आएपनि मिनाले हरेश खाईनन । उनी मेरा छोराछोरी र समाजका लागि केहि गर्नुपर्छ भन्ने दृढ विश्वास र अठोटका साथ एक संकल्प लिएकी थिईन । २०५० सालमा विवाह भएपछि जीवनमा पाएका दुःख र हिंसाले उनलाई झन केहि गर्नुपर्छ भन्ने हुटहुटी थियो– आफू आफूमा निर्भर भएर बाँच्नुपर्छ भन्ने । उनले म आफै केहि गर्न सक्छु भनेर २०५३ सालबाट सुरु गरेको यात्रा आजका दिनसम्म पनि निरन्तर चलिरहेको छ ।
उनको शैक्षिक योग्यता एसएलसी सम्म थियो, त्यसपश्चात आइएल भर्ना भएर पढ्न लागिन र पढाईलाई निरन्तरता दिदै विएल, विएडसम्मको अध्ययन सकाईन । विहानमा अन्यत्र जागिर र दिउँसोमा विद्यालय पढाउने गरेर जीवनका आवश्यकता पूरा हुन थाले । उनी दुई सन्तानकी आमा हुन, छोरीलाई डाक्टर र छोरालाई ईन्जिनियर बनाउने सपना थियो ।
पढेलेखेको भएर होला यो कुरामा उनका श्रीमानले पनि आर्थिकले हैन नैतिक समर्थन गर्थे । उनकी छोरी डाक्टर आकृति रेग्मी अहिले टिचिङ हस्पिटल काठमाण्डौमा एमडी गर्दैछन् भने छोरा आकार पन्थी. उनको इच्छा भन्दा अर्को विषय लिटरेसी र म्युजिकबाट स्नातक गर्दैछन् । जे भएपनि अहिलेको अवस्थासम्म छोराछोरीले राम्रै गरिहेकोमा उनलाई गर्व लागेको छ ।
जीवनमा आफू आत्मनिर्भर भएर बाँच्नुपर्छ भन्ने पाठ सिक्दै आर्थिकरूपमा सशक्त भयो भने कहिँकसैले हेप्न सक्दैन भन्ने पहिचान बनाएकी मिना अहिले शैक्षिक क्षेत्रको सफल उद्यमीकोरूपमा परिचित व्यक्तित्व हुन् । परिवार, आफन्त, साथीभाई जो भनेपनि पैसा कमाउन नसकेपछि कोहि आफ्नो हुँदैन ।
त्यसैले शिक्षा, सिप र उद्यमसंग जोडिएर आर्थिकरूपमा बलियो बन्न विशेषगरी महिला र सबैलाई उनको आग्रह छ । श्रीमान जीवन यात्राको एक अध्याय हो तर उ सबै थोक हो भनेर उसकै भरमा जीवन अर्पण गर्नु हुँदैन । उसको साथमै रहेर पनि आफ्नो निर्णय क्षमता र आयश्रोत आउने काम महिलाले गर्नैपर्छ भन्ने मान्यता राख्छिन् । यसकारण ओमसाई नर्सिङ कलेज स्थापना गरि छोरीहरूलाई नै पढाउने र प्राविधिक शिक्षामा दक्ष बनाउने भनेर लागिन । उनी त्यस कलेजको अध्यक्ष पदमा छन् भने सामाजिक काममा पनि उक्तिकै सत्रिय भएर लागेको देखिन्छ ।
लायन्स डिष्ट्रिक ३२५ को सेकेन्ड भाइस गर्भनरमा अत्याधिक मत ल्याएर निर्वाचित भईन् । सामाजिक कार्य गरिरहँदा नेपालको परिवेशमा चालिस वर्ष लामो समयमा पहिलो महिला लायन्सको नेतृत्व लिन सफल भएर एक इतिहास रच्न सफल भएकी छन् । महिला त्यो पनि अझ एकल महिला आर्थिक रूपमा सम्पन्न छ, नेतृत्व लिन र निर्णय गर्न सक्ने क्षमता भएरपनि उसलाई कतिसम्म पछि पार्न खोजिन्छ भन्ने कुरा लायन्सको नेतृत्व लिन खोज्दा उनले भोगेकी छन् ।
२२ वर्षसम्म सामुदायिक विद्यालयमा अध्यापनसंगै, सरकारी, सामाजिक, राजनीतिक, नीजि व्यवसायमा शैक्षिक क्षेत्रको नेतृत्व गर्दै आएको अनुभवमा उनले धेरै चुनौती खेप्दै आएकी छन् । आफूले नसक्दा, आर्थिक अभाव हुँदा आफन्तदेखि समाजका हरेक मानिसले हेर्ने दृष्टिकोण यति नकारात्मक हुन्छ कि शब्दमा भन्नै नसकिने गरि भोग्नेलाई थाहा हुन्छ र त्यो तीतो भोगाई उनले कहिल्यै विर्सन नसक्ने गरि छाप बसेको छ । यसर्थ उनको एक मात्र संकल्प रहेको छ– हरेक महिलालाई सिप सिकाएर उद्यमी बनाई आत्मनिर्भर बनाउने ।
जीवनका कथा गाँथाहरू धेरै हुन्छन् सडकमा आएको मान्छे हरेस नखाईकन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भन्ने भनाईलाई आत्मसाथ गर्दै अगाडि बढेको महिला भएका कारण उनलाई कर्म गर्दा असफल होइन सफलता सम्भव छ भन्ने लाग्दछ ।
दायाँवायाँ कोही कसैको साथ, उत्प्रेरणा छैन र पनि उनमा यति धेरै आत्मबल, विश्वास छ कि हरेक निर्णय आफैले गर्छिन । यस प्रकारको क्षमता बढाउन उनले पढ्ने बानीको विकास गरेकी छन् । त्यो पनि एक सफल व्यक्तिको जीवन कथा पढ्दै गर्दा असफल र कमजोर व्यक्तिहरूको जीवनी पनि उत्तिकै प्राथमिकतामा राखेर ।
यो दुवै कथा पढिसकेपछि उनले आफूलाई म कहाँनेर छु भनेर तुलना गर्छिन रे अनि मात्र योजना बनाएर कार्यान्वय गर्नतर्फ लाग्छिन । एउटा विलगे्रड पत्रिका किन्ने पैसा नभएर हिड्दै गर्दा पत्रिका बेच्ने मान्छेले यो पत्रिका पढ् भनेर दियो र उनले पढे । त्यसमा लेखिएको ज्ञानले उनी संसांरकै धनी व्यक्ति बन्न सफल भए । पछि उन्को मनमा लाग्यो पत्रिका वेच्ने व्यक्तिले गर्दा म आर्थिकरूपमा सम्पन्न भएँ, उसको अवस्था कस्तो होला भेट गरेर हालचाल बुझछु, अनि सहयोग पनि गर्छु भनेर पत्रिका किनेकै स्थानमा आए ।
तर उनले कतै पनि उसलाई भेटेनन् र मन खिन्न पार्दै फर्किए । यसको मतलव उनी आउन धेरै ढिलो भएको थियो । यसर्थ जीवनमा कमाउदै गर्दा त्यसको केहि हिस्सा समय छदैं सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक काममा लागेको देखिन्छ । नेपालमा धेरै उदाहरण छन् ।
भवानी राणा जसले आर्थिक उन्नति गर्नुभएको छ, एकल महिलामा लीली थापाको संघर्षलाई लिन सकिन्छ । जसले एकल महिलाहरूलाई २०५१ सालदेखि संगठित बनाएर हक अधिकार स्थापित गर्दै उद्यमी बनाउनु भएको छ । मेरै सन्दर्भमा हेर्नुहुन्छ भने म एक शैक्षिक संस्थाको अध्यक्षताको रूपमा बस्दै गर्दा म आफैलाई एक खालको गर्व लाग्दछ किनकी सबै महिला कर्मचारीहरूलाई रोजगारी दिएकी छु । यसर्थ महिलाले नेतृत्व गरेका प्रशासन, नीजि, सामाजिक सबै क्षेत्रहरू सफल र पारदर्शी रहेको पाईन्छ ।
महिलाको नाममा पैतृक सम्पत्ति र उद्योगहरू दर्ता भएका छन् । बिडम्वना उनीहरूको नेतृत्व लिने र त्यो पुँजीलाई चलायमान गर्ने हैसियतको अधिकार प्राप्त छैन । यसर्थ उनीहरूलाई उद्यम आफैले गर्न सिकाउँदै सामाजिक पहिचानमा निडर र राजनीतिक सचेतना जगाउनका लागि एकपटक नीति निर्माण गर्ने स्थानसम्म पुग्ने लक्ष्य लिएर उद्यमी तथा सामाजिक व्यक्तित्व मिना पन्थी अगाडि बढेको भेटिन्छ ।