© २०२३
बुटवल, २२ साउन ।
प्रदेश सरकारले अनुदानमा दिएको बाख्राबाट रोग फैलँदा पाल्पाको तिनाउ गाउँपालिका जन्तीलुङ्गका किसानका २ सय भन्दा बढी बाख्रा मरेका छन् । केही समय पहिला मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रममा अन्तर्गत जन्तीलुङ्गका किसानलाई होम स्टे सहित बाख्रा, बङ्गुर, कुखुरा पालनको लागि उपलब्ध गराइएको थियो ।
बाख्रा दिँदा स्वास्थ्य परीक्षण विना नै दिएको कारण पिपिआर रोगको कारण अहिले प्रदेश सरकारले दिएको बाख्रा सँगै अन्य बाख्रामा समेत रोग फैलिँदा गाउँ नै बाख्रा विहीन हुने अवस्था आएको स्थानीय मिना लम्तरीले बुटवल टुडेलाई जानकारी दिइन् ।
उनका अनुसार तिनाउ गाउँपालिका वडा नम्बर ९ मा को गाउँ भरी नै अहिले पिपीआर रोग फैलिएको हो । गत असारको पहिलो हप्ताबाट फैलिएको रोग हालसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा नआउँदा सिङ्गो गाउँका बाख्रा, पाठापाठी, बोका र खसी मरेर सखाप भएको स्थानीय लम्तरीको भनाई छ ।
उनी भन्छिन्–‘बाख्रा दिँदा खेरी नै सिँगान आएको थियो, हामी हेरेनौँ, अहिले त्यही बाख्राबाट सरेर पाल्दै आएका पहिलाका बाख्रा पनि मरे, ती बाख्रा त पहिल्यै मरेका हुन । ’ तिनाउ गाउँपालिका पशु स्वास्थ्य शाखा पशु स्वास्थ्य प्राविधिक अनिश पौडेलका अनुसार पिपीआर रोग आउट ब्रेक भएर पनि अहिले नियन्त्रणमा आएको जानकारी दिए ।
उनले केही समय देखि पिपीआर रोग देखिएको कारण पालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशु रोग अन्वेषण प्रयोगशाला नवलपरासीको सहयोगमा रोग पहिचान गरी निदानको काम गरिएको जानकारी दिए । मरामकोट, मस्याम, लगायतका सम्भावित क्षेत्रमा भ्याक्सीनेसनको काम गरिएको अब फैलिने सम्भावना कम भएको उनको भनाई रहेको छ ।
किसानले तिनाउकै झिंगामरा गाउँबाट मिल्दोजुल्दो लक्षण देखिएको भन्दै फोन आए पनि फिल्डमा गएर हेर्दा समस्या नभएको उनको भनाई छ । उनी भन्छन्–‘अहिले ठोस समस्या समस्या, जे होस्, सबैको सहकार्यमा नियन्त्रणमा आउने प्रयास छ । ’ भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र पाल्पाका युवराज ज्ञवाली आउट ब्रेक भएको पिपीआर रोग नियन्त्रणमा आएको बताए ।