Butwal Today

नेपाल मिडिया सोसाइटीले काठमाडौँमा गर्‍यो अन्तरक्रिया कार्यक्रम

मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखी भएको भन्दै आपत्ति
२१ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, २१ साउन ।

प्रस्तावित मिडिया काउन्सिल विधेयक सञ्चार स्वतन्त्रता विपरीत भएको भन्दै पत्रकार, सम्पादक र कानुनविद्हरूले आपत्ति जनाएका छन्।

नेपाल मिडिया सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्। नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव बोधराज त्रिपाठीले सञ्चालन गरेका थिए भने संयोजक धर्मराज भुसालले विषय प्रवेश गराएका थिए।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षद्वय तारानाथ दाहाल र शिव गाउँले, महासङ्घका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विधेयकबारे आ–आफ्नो धारणा राखे।

उनीहरूका अनुसार यो विधेयक नियमन गर्ने भन्दा पनि मिडिया नियन्त्रण गर्ने खालको देखिएको छ। सहभागीहरूमध्ये धेरैले विधेयक अहिलेको स्वरूपमै पारित भएमा प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथि आघात पुग्ने बताएका थिए।

अर्कोतर्फ, मिडिया काउन्सिल सञ्चारमाध्यमका सञ्चालक, श्रमजीवी पत्रकार र सरोकारवालाबिचको समन्वयकारी संयन्त्र बन्नुपर्नेमा सबैको जोड थियो। कार्यक्रमका सहभागीहरूले विधेयक यसै रूपमा अघि बढाउनु हुँदैन भनेर चेतावनीसमेत दिएका छन्।

कार्यक्रममा नेपाल मिडिया सोसाइटीका उपाध्यक्ष महेश स्वाँर, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा. जनकराज पन्त र राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईँको पनि उपस्थिति थियो। अब नेपाल मिडिया सोसाइटीले सरोकारवालासँग थप छलफल गरेर विधेयकमा आवश्यक संशोधनको प्रस्तावसहित सरकारसमक्ष औपचारिक धारणा पेस गर्ने तयारी गरिरहेको छ।