Butwal Today

राजधानीको सडकमा विरोध स्वरूप केरा रोपे स्थानीयले

 लुम्बिनी  प्रदेश राजधानीमै सडक जीर्ण बनेको भन्दै 
२१ श्रावण २०८२, बुधबार
अ+
अ-

लमही ,२१ साउन।

स्थानीयले सडकको दुरदशाबारे ध्यानाकर्षण गराउन बिच सडकमै बिरुवा रोपेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–लमही सडक खण्डमा सडकैभर खाडल परेपछि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका स्थानीय युवाहरूले पाखापानी स्थित पवित्रा पेट्रोल पम्प नजिक बिच सडकमै बिरुवा रोपेका हुन् ।

नियमित वर्षाका कारण सडकका खाडलमा पानी भरिएपछि दुर्घटनाको जोखिम बढेको, हिँडडुल गर्न समस्या भएको स्थानीय पत्रकार बलराम शाहीले बताएका छन् । सडक मर्मत गर्ने कुरामा कसैले ध्यान नदिँदा सडक विभागको ध्यान केन्द्रित गर्न बिच सडकमै बिरुवा रोपेको शाहीले बताए ।

सडकै भरि खाडल परेका कारण सवारी दुर्घटना बढेको, धेरैले अकालमा ज्यान गुमाउनु परेको, पैदल यात्रु, साइकल चलाउनेलाई यात्रा गर्न कठिन भएको उनले बताए । राजधानी भएको क्षेत्रमा कसैले ध्यान नदिएपछि सबैको ध्यानाकर्षण गराउन बिरुवा बिच सडकमै रोपिएको उनले बताए ।

सडकका खाडल पुर्न सम्बन्धित निकायले कुनै चासो नदिएको हुँदा सडक विभाग र राजमार्ग भएर ओहोर दोहोर गर्ने मन्त्री तथा राजनीतिक दलहरूको ध्यान केन्द्रित गर्न स्थानीयले सडकमा बिरुवा रोपेको उनले जानकारी दिए । लमही र भालुवाङ बिचको सडकमा अत्यधिक खाल्डाखुल्डी छ । ती खाडलमा बर्षामा पानी जम्मा हुन्छ र सडक क्षमता भन्दा बढी भार बोकेका सवारीले झनै बिगार्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ ।