© २०२३
बर्दिया, २१ साउन ।
खाद्य गुणस्तर तथा प्रविधि कार्यालय नेपालगन्ज र राजापुर नगरपालिका बिचको सहकार्यमा राजापुर नगरपालिका स्थित मंगलबार लाग्ने हाटबजारमा विक्री वितरण गरिने खाद्य वस्तुहरूको विषादी जाँच तथा अनुगमन गरिएको छ । टोलीले बजारमा बिक्रीका लागि ल्याइएका तरकारी तथा फलफूलमा प्रयोग गरिएका विषादीको मात्रा परीक्षण गरेको छ ।
अनुगमन कार्यको उद्देश्य उपभोक्तालाई सुरक्षित, विषादीमुक्त तथा गुणस्तरीय खाद्य वस्तु सुनिश्चित गर्नु रहेको जनाइएको छ । राजापुर नगरपालिकाका रोजगार संयोजक रमेश पोख्रेलका अनुसार, अनुगमन टोलीले विभिन्न व्यापारीहरूसँग प्रत्यक्ष संवाद गरी विषादी प्रयोगबारे जानकारी लिएको र केही स्थानमा तुरुन्तै प्रयोग परीक्षण समेत गरिएको जानकारी दिए ।
“हामीले बजारमा उपलब्ध तरकारी तथा फलफूलको स्याम्पल संकलन गरी मोबाइल ल्याब प्रयोग गरेर विषादीको अवशेष परीक्षण गरेका थियौँ,” संयोजक पोख्रेलले भने, “सामान्यतः तरकारीहरूमा विषादीको मात्रा सहनीय सीमाभित्र देखिएको छ, तर केही वस्तुहरू माथि थप परीक्षण आवश्यक देखिएको छ ।” तरकारी र फलफूल परीक्षण लागी नमुना लिई नेपालगन्ज लगिएको खाद्य अनुसन्धान अधिकृत एक राज बुढाथोकीले जानकारी दिए ।
स्थानीय व्यवसायीहरूलाई सचेत पार्दै, भविष्यमा विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गरिएको छ । साथै, नगरपालिकाले यस्ता अनुगमन गतिविधिहरू नियमित रूपमा सञ्चालन गर्ने बताइएको छ । उक्त अनुगमन कार्यक्रममा खाद्य प्राविधिक, नगर प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।