© २०२३
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर डङ्गले अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन् । निर्मला पन्तको हत्यापछि धेरैले गृहमन्त्रीको पद सम्हाले तर यो हत्या प्रकरण अझै पनि रहस्यको गर्भमै कैद छ ।
निर्मलाको हत्या भएको ६ वर्ष भैसकेको छ । धेरै पटक अनुसन्धान गर्ने भन्दै छानबिन टोली पनि गठन भयो तर अहिलेसम्म उनको हत्या कसले र किन गरेको भन्ने पत्ता लाग्न सकेको छैन । यो हत्या काण्डमा ठूलो समूहको हात रहेको पुष्टि भैसकेको छ । नेपाल प्रहरी अनुुसन्धानमा अब्बल मानिन्छ ।
अहिलेसम्म धेरै हत्याकाण्डमा उसलाई सफलता मिलेको छ तर निर्मला पन्तको हत्याकाण्ड अहिलेसम्म अनुसन्धानमै सीमित रहनु नेपाल प्रहरीको दुर्बलता हो कि शक्तिकेन्द्रहरूको दवाव ? प्रश्न उत्पन्न भएको छ । जेहोस हरेक गृहमन्त्रीले आफ्नो प्राथमिकीकरणमा निर्मला पन्तलाई जोड्दै आएका छन् र असफल सावित हुँदै आएका छन् ।
यसअघि गृहमन्त्री भएपछिको पहिलो निर्णयमा हस्ताक्षर गर्दै रबि लामिछानेले निर्मला पन्तलाई न्याय दिन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । उनको पहिलो प्रतिवद्धताले मुलुकमा शान्ति सुरक्षाको प्रभावकारीतासंगै निर्मला पन्तको परिवारले न्यायको अनुभूति गर्ने केही आशा र विश्वास पलाएको थियो तर उनीपनि त्यही कोटीको गृहमन्त्रीमा परे, प्रतिवद्धता गर्ने तर छानविनलाई किनारा दिन नसक्ने ।
निर्मला हत्याकाण्डमा संलग्नमाथि कारवाही गर्ने भन्दै थुप्रै गृहमन्त्रीले हत्याकाण्ड छानबिन गर्ने प्रतिवद्धता जनाएकै हुन । निर्मला जस्ता अन्य धेरै चेलीको पनि निर्मम हत्या भएको छ । तीमध्ये हत्यामा संलग्न कति अपराधी पक्राउ परे र कतिले सजाय पाएका छन् । आज ती सवै निर्मलाको हत्याको फाईल खुल्नुपर्दछ ।
जेहोस पछिल्लोपटक गृहमन्त्री भएको एक बर्षपछि बल्ल रमेश लेखकलाई निर्मला पन्तको हत्या छानबिन गर्ने सोँच पलाएको छ । यद्यपि उनबाट पनि धेरै आशा गर्न सकिदैन । गृहमन्त्री भएको एक बर्षपछि मात्रै निर्देशन दिएकोले यो घटनाको अनुसन्धानलाई औपचारितामै सीमित गर्ने ध्येय उनको पनि हुन सक्छ । तर उनले प्रहरीलाई निर्देशन दिएका छन् । यसमा उनको परीक्षा हुनेछ ।
निर्मला पन्तको हत्यामा संलग्न दोषीमात्रै पक्राउ परेर सजाय पाएको अवस्थामा रमेश लेखकको कार्यकाल सर्वाधिक सफल कार्यकाल हुनेछ । उनीमाथि लागेको भिजिट भिसाको दाग घटाउन यो महत्वपूर्ण हुनसक्छ । विगतमा निर्मला पन्तको बलात्कार र हत्यापछि राज्यको जिम्मेवार निकायले गंभीर ढंगले दोषी पत्ता लगाउन र कारवाहीमा वेवास्ता गर्दा यो घटना अहिलेसम्म रहस्यको गर्भमै रहेको कुरामा दुईमत छैन ।
नेपालको गृह प्रशासन हत्यामा संलग्न दोषी पत्ता लगाउन असक्षम भएको होइन, बरु यो प्रकरणलाई इतिहासमा बिलीन वनाउने कुत्सित मनसायमा रहेको शक्तिकेन्द्रको दवावमा परेको हो भन्दा अत्युक्ति हुँदैन । उनको हत्याको सेरोफेरोमा थुप्रै हत्याहरू भएका छन् । प्रहरी हिरासतमै पनि कैयौं चेलीले ज्यान गुमाएका छन् ।
ती सवैको अनुसन्धानबाट हत्यारा पत्ता लाग्ने तर निर्मलाको मात्रै दोषी पत्ता लाग्न नसक्ने हुनै सक्दैन । यसमा बर्तमान गृहमन्त्रीको अग्निपरिक्षा सुरु भैसकेको छ । यो नृशंस घटनामा संलग्न दोषी ठूलै राजनैतिक शक्तिकेन्द्र नजिक रहेको आशंका पहिलेदेखि गरिएको हो ।
त्यति नै बेला दोषी पत्ता लाग्ने थुप्रै दसी प्रमाण थिए र ती सवै नष्ट गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टले बताउँछ । यो घटनामा संलग्न दोषी ठूलो शक्तिकेन्द्र नजिक भएकोले यो केवल औपचारिकता मात्रै हुने हो कि भन्ने चिन्ता छ । तर, न्याय मर्दैन कि भन्ने गृहमन्त्रीको पछिल्लो प्रतिवद्धताले केही आशा अवश्य पलाएको छ । अहिले यो घटनालाई केवल चर्चामा मात्र होइन, दोषी पत्ता लगाएर कानुनी कठघरामा उभ्याउने काममा गृहमन्त्री लेखकलाई सफलता मिलोस् ।