Butwal Today

प्रसूति सेवामा गुणस्तर र प्रविधि: लुम्बिनी अस्पतालको नयाँ फड्को

२० श्रावण २०८२, मंगलवार
अ+
अ-

बुटवल

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा प्रसूति तथा स्त्रीरोग सेवा थप प्रभावकारी बन्दै गएको छ। विशेषगरी शल्यक्रियामा आधुनिक ‘ल्याप्रोस्कोपी’ (दूरविन विधि) प्रविधिको प्रयोग तीव्ररूपमा बढ्दै गएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार, प्रसूति सेवाका लागि छुट्टै भवन र शल्यक्रिया कक्षको विस्तारपछि उपचार सेवा गुणस्तरीय र सुलभ बन्दै गएको छ।

यसै क्रममा अस्पतालमा हालै एकजना महिलाको एक्टोपिक प्रेग्नेन्सीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। एक्टोपिक प्रेग्नेन्सी भनेको भ्रूण गर्भाशय बाहिर—प्रायः फ्यालोपियन ट्युबमा—विकास हुन थालेको अवस्था हो, जुन अत्यन्तै जोखिमपूर्ण मानिन्छ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बाबिता थापाका अनुसार, यस्तो अवस्थामा भ्रूण बढ्न नसक्ने हुँदा त्यस स्थान चुँडिएर आन्तरिक रक्तस्राव हुनसक्छ, जसले महिलाको ज्यान समेत जोखिममा पार्न सक्छ।

अस्पतालले अपनाउँदै आएको ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रिया तुलनात्मक रूपमा सुरक्षित, कम रक्तस्राव हुने र छिटो निको हुने भएकाले अत्यन्तै भरपर्दो ठहरिएको चिकित्सकहरूको भनाइ छ।

उक्त सफल शल्यक्रिया डा. भक्तवत्सल राउतको नेतृत्वमा सम्पन्न भएको हो। सहकार्यमा डा. अनुपमा केसी, डा. बाबिता थापा, डा. सीमा राना तथा एनेस्थेसियाका डा. समीर आचार्य सहभागी थिए।

अस्पताल प्रमुख डा. ढकालले अब प्रसूति सेवा बाहेक अन्य शाखाहरू पनि विशिष्टिकृत गर्दै लैजाने अभियान जारी रहेको बताए। लुम्बिनी प्रदेशमा उच्च मातृ तथा शिशु मृत्युदरलाई कम गर्न अस्पतालले सेवा विस्तारलाई प्राथमिकता दिएको उनको भनाइ छ।

उनका अनुसार, हाल प्रसूति सेवा छुट्टै भवनबाट सञ्चालन हुँदै आएको छ, जसले सेवाग्राहीलाई सहजता दिएको छ। साथै, अस्पतालमा हालै म्यामोग्राफी सेवा, ब्रेस्ट क्लिनिक, स्वचालित ल्याब रिपोर्ट प्रणाली, अनलाइन टिकटिङ, र फार्मेसी काउन्टर थप लगायत सेवाहरू सञ्चालनमा ल्याइएको छ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा विस्तारसँगै गुणस्तर र पहुँचमा पनि ध्यान दिइएको जानकारी दिए। साथै, अस्पतालको भौतिक पूर्वाधारमा समेत काम भइरहेको र छिट्टै मेडिकल वार्डको बेड सङ्ख्या ९० पुर्याउने तथा आईसीयू बेड थप गर्ने योजना रहेको उनले जनाए।