© 2026
सल्यान, २० साउन
सल्यानको कालिमाटी गाउँपालिका–२ स्थित बागखोर झिंगाने गाउँमा अविरल वर्षापछि गएको पहिरोले विद्यालय र निजी खेतबारीमा क्षति पुर्याएको छ भने एक परिवार विस्थापित भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार दिउँसो साढे १ बजे सृजनशील माध्यमिक विद्यालयभन्दा करिब ७० मिटर माथिबाट लेदो माटोसहितको ठूलो पहिरो खसेको हो। पहिरोले विद्यालयको प्रांगण पुरिएको भए पनि भवनमा कुनै भौतिक क्षति पुगेको छैन।
उक्त पहिरोले विद्यालय नजिकै बसोबास गर्दै आएका लालबहादुर वलीको करिब ५ रोपनी पाखाबारी पनि पुरिएको छ। घटनापछि लालबहादुर वलीको पाँच सदस्यीय परिवार विस्थापित भई छिमेकी देवबहादुर खत्रीको घरमा आश्रय लिएको छ।
प्रहरीका अनुसार विस्थापित परिवारको घरमा रहेका अन्नपात, लत्ताकपडा, पशुचौपाया र अन्य सामग्रीहरू पनि सुरक्षित रूपमा सारिएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी निरीक्षक उपेन्द्र वलीको नेतृत्वमा दुई जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
त्यसै दिन दिउँसो करिब २:५० बजे कालिमाटी गाउँपालिका–२ स्थित भोटेताल नजिकैको दाङ–सुर्खेत सडकखण्डमा माथिबाट खसेको अर्को पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ। जसका कारण सो क्षेत्रमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।