© २०२३
बुटवल, २० साउन ।
प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा पनि रुपान्तरण अपरिहार्य भएकोमा वरिष्ठ पत्रकार मोहन चापागाईंले जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा सञ्चालित ‘नलेज सिरिज’ कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रमा तीन दशक लामो अनुभव रहेका पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष चापागाईंले अहिलेको युग सूचना प्रविधिको भएको भन्दै पत्रकारहरुले पनि आफूलाई प्रविधिसँग सुसज्जित बनाउनु पर्ने आवश्यकता औंल्याए।
उनका अनुसार, पुरानो पुस्ताले समाचार संकलन र प्रकाशनका लागि भोगेका चुनौतीहरू आजका युवाले कल्पनासमेत गर्न सक्दैनन्। “हामीले समाचार लेखेपछि अर्को दिन मात्र कस्तो छापियो भनेर हेर्न पाउँथ्यौं,” उनले सुनाए, “तर अहिले त प्रत्यक्ष प्रसारण गर्न सक्ने प्रविधि आयो।”
चापागाईंले पछिल्लो समय कृत्रिम बौद्धिकताको प्रयोगबाट समाचार तयार गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरे । उनले भने, “केही हिन्ट मात्रै दिएर समाचार बन्ने अवस्थामा हामी पुगेका छौं । यस्तो बेला पत्रकारको मौलिकता, अनुसन्धान क्षमता र सिर्जनशीलता झनै महत्वपूर्ण भएको छ ।”

उनका अनुसार, प्रविधिले काम सजिलो बनाए पनि पत्रकारिताको मूल आत्मा भने खोज र अनुसन्धानमै रहनेछ । “अन्य माध्यमले नबुझ्ने वा नलेख्ने कुरा पत्रकारिताबाट उजागर हुन्छ,” उनले भने, “त्यसैले मेहनत र गहिरो अध्ययन जरुरी छ।”
पत्रकारिता केवल समाचार लेख्ने माध्यम मात्र नभई समाज परिवर्तनको मेरुदण्ड भएको चापागाईंको धारणा छ । “समाजलाई दिशा दिन पत्रकारको कलम जिम्मेवार हुनुपर्छ,” उनले जोड दिए ।
सामाजिक सञ्जालको वर्चस्वबारे टिप्पणी गर्दै उनले यथार्थपरक सूचना प्रवाहका लागि व्यावसायिक पत्रकारिता अझै आवश्यक रहेको बताए । “जनता सामाजिक सञ्जालमा आएका कुरामै बढी विश्वास गर्न थालेका छन्, तर साँचो र जिम्मेवार सूचना भने पत्रकारबाटै आउँछ,” उनले भने ।
कार्यक्रममा उनले आफ्नो पत्रकारिता यात्रा सम्झिँदै २०५२ सालमा दैनिक लुम्बिनीबाट ३४ सय रुपैयाँ तलबमा पत्रकारिता सुरु गरेको स्मरण गरे । उनले भने, “तलब सानो थियो, तर पत्रकारिताप्रतिको जोश ठूलो थियो ।”
नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य भुवन जिसीले गरेका थिए ।
नलेज सिरिजअन्तर्गत महासंघले जिल्लाका पूर्व अध्यक्षहरूसँग अनुभव, विचार र मार्गदर्शन आदानप्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।