© २०२३
काठमाडौं, २० साउन ।
काठमाडौं महानगरपालिका–१० न्युरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सञ्चालक समितिका सात जना पदाधिकारी बचतकर्ताको करिब पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका छन्।
फरार पदाधिकारीहरूमा अध्यक्ष दमन्ता घिमिरे ४३ वर्षीय, सचिव अमृत कटुवाल ३८ वर्षीय, सहसचिव गोपाल अधिकारी २५ वर्षीय , कोषाध्यक्ष भारती न्यौपाने गौतम ४४ वर्षीय , सदस्य अनिता थापा २९ वर्षीय, र सदस्य रोहित खड्का ३८ वर्षीय छन्।
उनीहरू लामो समयसम्म सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले फरार प्रतिवादीका रूपमा प्रतिवेदन बुझाएको छ। यसअघि पनि उनीहरूविरुद्ध २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगीको मुद्दा दर्ता भएको थियो। पछिल्लो अनुसन्धानपछि थप पाँच करोड रुपैयाँभन्दा बढी अपचलन भएको देखिएको हो।
१५ जना बचतकर्ताहरूको कुल ४ करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा दायर गरिएको छ। तीमध्ये एकजना बचतकर्ता सुरेशकुमार पोदारको मात्रै १ करोड ४९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको देखिएको छ।
प्रहरी अनुसन्धानका अनुसार, ती पदाधिकारीहरूले बिना धितो ऋणका नाममा रकम बाँडफाँड गरी आफैंले लिएको र त्यसपछि तिर्न नसकी फरार भएको खुलासा भएको छ।
उनीहरूमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसार मुद्दा दायर गरिएको छ, जसमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। प्रहरीले हाल उनीहरूको खोजी तीव्र बनाएको जनाएको छ।