© २०२३
लमही, २० साउन ।
दाङको राजपुर गाउँपालिका जुन दाङकै सबैभन्दा बढी दूध उत्पादन गर्ने पालिका हो । यस पालिकामा बहुसङ्ख्यक अवधि समुदायको बसोबास रहेको छ । उनीहरूको मुख्य पेशा नै भैंसीपालन गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेको दूध, दही गाउँमा खपत नहुँदा लामो दुरीमा रहेको लमही, घोराही र भालुबाङ दही बनाएर बेच्नु पर्ने बाध्यता रहँदै आएको थियो ।
अहिले राजपुर–३ प्रतापपुरमा दूध उत्पादन गर्ने किसानहरूलाई लक्षित गर्दै आधुनिक दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले दैनिक रूपमा किसानबाट दूध सङ्कलन गर्न सुरु गरेको छ ।
केन्द्रमा दूध तौल गर्ने डिजिटल प्रणाली, सङ्कलन भण्डारण ट्याङ्की र चिलिङ सिस्टम जडान गरिएको छ । राजपुरका किसानहरू लामो समयदेखि दूधको उचित मूल्य नपाएको, बजार अभाव, र सस्तो मूल्यमा बिक्री गर्न बाध्य रहेको गुनासो गर्दै आएका थिए । स्थानीय किसान दयावन्ती यादब भन्छिन्, ‘अब हामीलाई निश्चित मूल्यमा दूध बेच्न पाइनेछ ।
किसानलाई न्याय हुने विश्वास लागेको छ ।’ पहिले फुटकर स्थानीय व्यापारीलाई ६० रुपैयाँ प्रतिलिटर दूध बेच्दै आएकोमा अहिले सङ्कलन केन्द्रमा बेच्दा १ सय ६ प्रति लिटरमा बिक्री गरिरहेको बताइन ।
यस योजनामा गाउँपालिकाको भिटा कार्यक्रम अन्तर्गत लगानी गरिएको जानकारी भिटा परियोजना संयोजक गिरिराज भट्टले जानकारी दिए ।
केन्द्रको सञ्चालन, व्यवस्थापन र अनुगमन स्थानीय सहकारी संस्थामार्फत गरिनेछ । किसानहरूको दूध उत्पादनलाई गुणस्तर र परिमाणका आधारमा मूल्याङ्कन गरिने प्रणाली पनि लागू गरिनेछ । राजपुर गाउँपालिकाका अध्यक्षले केन्द्र किसानको जीवनस्तर उकास्ने महत्त्वपूर्ण आधार बन्ने आगामी दिनमा पशुपालनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई ‘दूधको केन्द्र’ बनाउने योजना रहेको बताए ।
हामीले उत्पादनको मूल्य स्थायित्व, गुणस्तर आधारित मूल्याङ्कन र नियमित सङ्कलन प्रणाली सुनिश्चित गर्नेछौँ । यो केन्द्रले केवल दूध मात्रै होइन, किसानको विश्वास पनि सङ्कलन गर्नेछु बुढाथोकीले भने । त्यस्तै गाउँपालिका कि उपाध्यक्ष धनपती देबि यादवले दूध सङ्कलन केन्द्रको स्थापना हाम्रो गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रमा उपलब्धि भएकाले यसबाट किसानहरूले अब आफ्नो उत्पादनलाई सस्तोमा बेच्छु कि भन्ने चिन्ता गर्नु नपर्ने बताइन ।
स्थापना गरिएको केन्द्रबाट दैनिक १ हजार घर परिवार बाट २ हजार लिटरभन्दा बढी दूध सङ्कलन गरिने अपेक्षा गरिएको छ । आगामी दिनमा नस्ल सुधार, पशु आहार अनुदान र तालिम कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिइएको छ ।