Butwal Today

गुल्मीको सत्यवतीमा २ करोडको कभर्डहल

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

गुल्मी, १९ साउन ।

गुल्मीको सत्यवती गाउँपालिकामा दुई करोड रुपैयाँ भन्दा बढीको लगानीमा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ ।

स्थानीय खैरेनी युवा क्लबको पहलमा सत्यवती ब्याडमिन्टन कभर्डहलको निर्माणका लागि तत्कालीन गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले सत्यवती गाउँपालिकाको कार्यपालिकाबाट २०७८/०७९ मा २० लाख रुपैयाँ विनियोजन गरेका थिए ।

त्यसलाई निरन्तरता दिँदै हालका गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले गाउँ कार्यपालिकाबाट २०७९/०८० मा २५ लाख र २०८०/०८१ मा एक करोड ५९ हजार ९३ रुपियाँ विनियोजन गरेका थिए । त्यसै गरी सङ्घीय सांसद डाक्टर चन्द्र भण्डारीको पहलमा एक करोड रुपैयाँ विनियोजन भएको क्लबका अध्यक्ष टिका बुढाथोकीले बताएका छन् ।

कभर्डहलमा अहिले तीन वटा कोर्ट, म्याट सहितका आधुनिक सेवासहितको ब्याडमिन्टन हल निर्माण गरिएको छ । बाँकी अधुरा काम सम्पन्न गर्नका लागि यस आर्थिक वर्षको लागि वडा नं. ६ बाट एक लाख रुपैयाँ विनियोजन गरिएको क्लबका अध्यक्ष बुढाथोकीले बताए ।

खैरेनी युवा क्लबबाट अहिलेसम्म दुई लाख ४३ हजार रुपैयाँ खर्च गरिसकेको छ । लाइट, व्याकप र फिनिसिङ लगायतका कामका लागि अझै करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । खैरेनीमा ब्याडमिन्टन कभर्डहल निर्माण हुनु अघिसम्म त्यहाँका युवाहरू खुल्ला कोर्टमा खेल खेल्न बाध्य बनेका थिए ।

अहिले आधुनिक तरिकाबाट सुविधा सम्पन्न हल निर्माण भएसँगै त्यस क्षेत्रका युवाहरू यति बेला थप उत्साहित बनेका छन् । सङ्घीयता आएसँगै पछिल्लो समयमा जिल्लामा ब्याडमिन्टन खेलको तीव्र विकास हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?