© २०२३
समाचार सारांश
मल नपाउँदा किसानहरू आक्रोशित हुँदै कोहलपुर–११ स्थित साझा सहकारीको मुख्य गेट तोडे।
बिहान ५ बजेदेखि लाइनमा बसेका किसानहरूलाई १० बजेसम्म पनि मल नपाउँदा धकेलाधकेल र नाराबाजी भयो।
कोहलपुरमा पाँचवटा वितरण केन्द्र भए पनि सहुलियत दरमा मल दिने संस्था साझा सहकारी मात्र हो, जसले भीड बढाएको छ।
कतिपय किसान ३–४ दिनदेखि पालोमा बसे पनि मल नपाएको गुनासो गरेका छन्।
नेपालगन्ज, १८ साउन ।
बाँके जिल्लामा मल अभाव चरम स्तरमा पुगेपछि किसानहरू आक्रोशित भएका छन् ।
कोहलपुर नगरपालिका–११ स्थित सहकारी संस्था लिमिटेड (साझा) मा मल लिन बिहान ५ बजेदेखि लाइनमा बसेका किसानहरू १० बजेसम्म पनि मल नपाएपछि आक्रोशित हुँदै मुख्य गेट तोडेका छन् । सयौँ किसानहरू मलको आसमा सहकारी कार्यालय अगाडि लामबद्ध थिए ।
तर, सीमित किसानलाई मात्र प्रवेश दिइएपछि भीड उग्र बन्न पुगेको थियो । नाराबाजीका बिच केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि उपस्थित जनाए पनि किसानहरू आफैँ सहकारीको सटर खोल्न खोज्दा धकेलाधकेल समेत भएको थियो ।

कतिपय किसानहरूले आफू चार दिनदेखि पालो पर्खिरहेको भए पनि मल पाउन नसकेको गुनासो गरे । वर्षाको समयमै मल नपाउँदा जेनतेन रोपेको धान बाली मलबिना उत्पादन नहुने किसानहरूको चिन्ता छ ।
सहकारीका व्यवस्थापक जुल्फीकार अलीका अनुसार, आइतबार १ हजारभन्दा बढी किसान मलका लागि लाइनमा उभिएकोमा सहकारीसँग जम्मा २ सय बोरा मात्र मल रहेको थियो । ‘मलको माग अत्यधिक छ, तर आपूर्ति निकै सीमित,’ उनले भने, ‘कोहलपुरका सबै वडा र छिमेकी क्षेत्रका किसान पनि सहुलियत मूल्यको आसमा यहीँ आउँछन् ।’
कोहलपुर नगरपालिका भित्र मल वितरण गर्ने पाँच वटा संस्था भए पनि सहुलियत दरमा साझा सहकारीले मात्र मल दिँदै आएको छ । आइतबारको तनावपूर्ण परिस्थितिका बिच करिब २ सय ५० जना किसानलाई मल वितरण गरिएको व्यवस्थापक अलीले जानकारी दिए ।
नगरपालिकाले तोकेको मूल्य अनुसार प्रतिबोरा ९ सय ८३ मा युरिया, २ हार ४ सय ३३ मा डिएपी र एक हजार ८ सय ३३ रुपैयाँमा पोटास वितरण गर्दै अएको उनको भनाई छ । कोहलपुर नगरपालिकाको कृषि शाखाबाट उपलब्ध हुने युरिया मलको कोटा घटाइएको कारणले पनि सहकारीले पर्याप्त मल वितरण गर्न नसकेको बताइएको छ ।
सहकारीका पदाधिकारीहरूका अनुसार, बजारमा कतिपय स्थानमा महँगो मूल्यमा मनपरी ढङ्गले मल बिक्री भइरहेको छ, जसका कारण किसानहरू बाध्यतावश उच्च मूल्य तिर्न तयार छन् ।
पर्याप्त वर्षा नहुँदा मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरू मल नपाउँदा दोहोरो सङ्कटमा परेका छन् । केही किसानहरूले भने, ‘खेती त ग¥यौं, अब मल नपाए भने उत्पादनै घट्छ ।’
कृषि सामग्री कम्पनी लिमिटेड, बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा वितरणका लागि ८ हजार ८ सय मेट्रिक टन मल आवश्यक भए पनि प्राप्त मात्रा निकै कम छ ।
शाखा प्रबन्धक श्रेष्ठले आर्थिक वर्ष २०८१ , ०८२ मा ६ हजार मेट्रिक टन युरिया, दुई हजार पाँच सय मेट्रिक टन डिएपी, तीन सय मेट्रिक टन पोटास गरी जम्मा आठ हजार आठ सय मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताए । जिल्लामा माग अनुसार रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उनको भनाई छ ।
आर्थिक वर्ष २०८१, ०८२ मा युरिया ४ हजार ८ सय ४५ मेट्रिक टन र २ हजार ९ सय ८ टन डिएपी मल आएको थियो भने सोही अवधिमा २ सय ७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो । मल अभाव हुनुको मुख्य कारण माग अनुसारको मल नपाउनु नै रहेको कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।
कृषि उत्पादनको मेरुदण्ड मानिने मलमा यस्तो चरम अभाव हुँदा पनि दीर्घकालीन समाधानबारे स्थानीय निकाय र सम्बन्धित निकायहरू मौन छन् । किसानहरू मलका लागि सङ्घर्ष गरिरहेका छन्, तर नीति निर्माण तहमा ठोस योजना र कार्यान्वयनको खाँचो अझै देखिन्छ ।