© २०२३
बर्दिया, १६ श्रावण ।
उद्योग वाणिज्य सङ्घ गुलरिया, बर्दियाले जिल्लामा रहेका व्यवसायी तथा किसानसँग सम्बन्धित समस्याहरूमाथि ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष देवेन्द्र पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी पौडेललाई भेटी ध्यानाकर्षण पत्र बुझाउनुका साथै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
ध्यानाकर्षण पत्रमा बर्दिया भारतसँग सिमाना जोडिएको महत्त्वपूर्ण जिल्ला भएकाले खुला सीमाबाट हुने अवैध कारोबार, सीमा पारिका सस्तो बजारको प्रभाव, राजस्व असुलीमा देखिएको चुनौती र कृषिमा मलखादको चरम अभाव जस्ता समस्याबारे स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
सङ्घका अध्यक्ष पाण्डेका अनुसार अवैध रूपमा भित्रिने भारतीय वस्तुले नेपाली बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्दै आएको र यसले स्थानीय उद्योग, व्यवसाय मात्र नभई सरकारको राजस्व सङ्कलनमा समेत प्रतिकूल असर परेको छ ।
“भारतसँग सिमाना जोडिएको यस जिल्लाको वाणिज्यिक गतिविधि खुला सिमानाबाट प्रत्यक्ष प्रभावित हुँदै आएको छ,” अध्यक्ष पाण्डेले भने, “खुला सीमाबाट हुने अवैध कारोबारले व्यवसायीलाई मर्कामा पारेको छ भने, सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न व्यवसायीहरूलाई संरक्षण दिनु आवश्यक भइसकेको छ ।”
सङ्घले ध्यानाकर्षण पत्रमा चार बुँदे मागसमेत अघि सारेको छ । जसअनुसार,
१) खुला सीमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न निगरानी थप कडा र प्रभावकारी बनाउने,
२) सीमापारिका बजारहरूसँग प्रतिस्पर्धा गर्न नेपाली व्यवसायीलाई संरक्षण दिने नीति अवलम्बन गर्न पहल गर्ने,
३) सरकारको राजस्व असुली प्रणालीलाई प्रभावकारी बनाउने
४) कृषिमा निर्भर किसानलाई गुणस्तरीय मलखाद समयमा उपलब्ध गराउन सम्बन्धित निकायहरूसँग समन्वय गरी तत्काल पहल गर्ने माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा बर्दियाका अधिकांश नागरिक कृषि पेसामा आश्रित रहेकाले प्रत्येक वर्ष मलखादको अभावले कृषकलाई समयमा उत्पादन गर्न असहज हुने र त्यसले जिल्लाको समग्र आर्थिक चक्रमा असर पार्ने कुरामा पनि जोड दिइएको छ ।
सङ्घले प्रमुख जिल्ला अधिकारीको कार्यकालमा यी जटिल समस्याहरू समाधानतर्फ सार्थक पहल हुने विश्वास व्यक्त गरेको छ । साथै, सङ्घले प्रशासनसँग नियमित समन्वय र सहकार्य गरेर जिल्लाको व्यापारिक वातावरणलाई मर्यादित, सुरक्षित र सक्षम बनाउने अपेक्षा राखेको जनाएको छ ।