© २०२३
स्त्रीणां सौम्यमन: स्वरूपसदृशं चित्ते विभात्यन्यथा।
मौनेन ह्यभिव्यक्तिरस्ति गहनं, चूडे च मेहन्दिके॥
केही चिजहरू देखिनेभन्दा गहिरा हुन्छन् । उनीहरूले आँखालाई त आकर्षित गर्छन्, तर आत्मासम्म पुग्ने तिनको यात्रा गहिरो, मौन र स्थायी हुन्छ । नेपाली समाजमा महिलाहरूले परम्परागत रूपमा लगाउने दुई यस्ता वस्तु हुन्—हरियो चुरा र मेहन्दी । यी दुवै चिजलाई सामान्यतः सौन्दर्यको प्रतीकका रूपमा बुझिन्छ । तर त्यो बुझाइ सतही हो । यसको भित्र लुकेको मनोविज्ञान, महिलाको आत्मभावना, सामाजिक संरचनासँगको संवाद, र व्यक्तित्वको मौन अभिव्यक्ति बुझ्न सकियो भने थाहा हुन्छ—यी केवल गहना होइनन्, भावनाको भाषा हुन् ।
सामान्यतया, मानिसहरू शरीर सिंगार्न गहना लगाउँछन् । तर चुरा र मेहन्दीको प्रयोजन शरीरभन्दा परको हुन्छ—यो आत्मासँगको संवाद हो । मनोविज्ञान भन्छ—मानव व्यवहार सतहमा देखिने क्रियाकलाप मात्र होइन; त्यो उसको अवचेतन, उसका भावनात्मक अनुभव, र विगतका प्रभावहरूको संगम हो । यही अवधारणा चुरा र मेहन्दीको सन्दर्भमा लागू हुन्छ ।
हरियो चुरा विशेषतः साउन महिनामा लगाउने चलन छ । यो हरियो रंग आफैँमा प्रतीकात्मक अर्थ बोकेको हुन्छ । मनोविज्ञानमा हरियो रंगलाई शान्ति, ताजगी, सन्तुलन, प्रेम र पुनर्जन्मको संकेत मानिन्छ । जब एक महिलाले आफ्नो हत्केलामा हरियो चुरा लगाउँछे, त्यो केवल परम्पराको अनुसरण होइन—त्यो मनभित्र आशा र पुनःजीवनको निर्णय हो । चुराको छनछनाहट बाहिरी सौन्दर्य हो, तर त्यसको आवाजले भित्र केही संकेत गर्छ—‘म अझै पनि बाँचिरहेकी छु, म अझै पनि प्रेम गर्न सक्छु, म अझै पनि सुन्दर छु ।’
चुरा लगाउनु आत्ममूल्यको पुनःप्राप्ति हो । हाम्रो समाजमा स्त्री पहिचान प्रायः सम्बन्ध र कर्तव्यमा गुमिएको हुन्छ । विवाहपछि ‘घरकी बुहारी’, ‘कसैकी आमा’, ‘कसैकी श्रीमती’ भन्ने परिचयले उसको मौलिक अस्तित्व कहिले हराउँछ भन्ने थाहा हुँदैन । त्यस्ता अवस्थामा हरियो चुरा महिलाको मौन प्रतिवाद हो । त्यो भन्छ—”म अझै पनि म छु । मेरो सौन्दर्य मेरो हो । मेरो चाहना जीवित छ ।”
यो मौनता शक्तिशाली हुन्छ, यति शक्तिशाली कि त्यो बोल्न नपरे पनि बुझिन्छ । कहिलेकाहीँ चुरा फूट्छ, र त्यो फुटेको आवाज महिलाको मनमा पनि गुञ्जन्छ । त्यो टुक्रिएको चुरा, मनोवैज्ञानिक दृष्टिले हेर्दा, एक विछोड हो—एक छुटेका सपनाको अवशेष । महिलाले आफैं पनि त्यो टुक्रिएको चुरालाई हेर्दा केही क्षण मौन हुन्छिन्, अनि फेरि अर्को चुरा लगाउँछिन् । यही निरन्तरता जीवन हो, यही अदृश्य पुनर्निर्माण नारीको मनोवैज्ञानिक साहस हो ।
अर्कोतर्फ, मेहन्दीको कुरा अझै गहिरो छ । मेहन्दी केवल हातमा लगाउने सजावट होइन । त्यो बिस्तारै सुक्छ, रङ गाढा हुन्छ, फेरि फिक्का बन्छ र बिलाउँछ । यसरी हेर्दा मेहन्दी नै जीवनको चक्रजस्तो लाग्छ—प्रेम जन्मिन्छ, गाढा हुन्छ, अनि समयसँगै मेटिन थाल्छ । मनोवैज्ञानिक रूपमा, मेहन्दी महिलाको भावनात्मक आविष्कार हो । यो एक ‘रिचुअलाइज्ड थेरापी’ हो—जहाँ महिलाहरू आफूलाई सजाउने बहानामा भित्री दुख, प्रेम, पीडा र अपेक्षालाई संयमित रूपमा व्यक्त गर्छन् ।
जब युवतीहरू मेहन्दी लगाउँदै हुन्छन्, उनीहरू त्यो बेलामा विशेष मानसिक अवस्थामा हुन्छन् । त्यो ध्यानजस्तो हुन्छ—ध्यान, जहाँ उनीहरू आफूलाई पूर्ण रूपमा केन्द्रित गर्छन्, अनि आफ्नो भित्री भावनालाई हातमा बेलबुट्टा बनाइदिन्छन् । मनोविश्लेषणको दृष्टिमा हेर्दा, त्यो एउटा प्रक्षेपण (projection) हो—जहाँ व्यक्ति आफ्नो अवचेतन विचारलाई कुनै बाह्य माध्यममा उतार्दछ । यहाँ त्यो माध्यम मेहन्दी हो ।
कसैले त्यो बेलबुट्टाभित्र पहिलो प्रेमको सम्झना उतार्छ, कसैले छुटेको आमाको मायालाई । कसैले त नबोलेको सपना, नलेखिएको कविता अनि नछिएको घाउ उतार्छ । सबै कुरा शब्दमा भन्न सकिँदैन। तर मेहन्दी, रंग, र गन्धले त्यो मौन भाषा बोल्छ ।
गन्धले स्मृति जगाउँछ—यो कुरा न्युरोसाइकोलोजीबाट प्रमाणित छ । मानिसको मस्तिष्कमा गन्ध र स्मृतिका केन्द्रहरू धेरै नजिक छन् । त्यसैले मेहन्दीको गन्धले विगतलाई चुपचाप बोलाइदिन्छ । बाल्यकालका साउनहरू, आमाको हातमा लगाइएको मेहन्दी, विवाहको अघिल्लो रात, वा कुनै वियोगको क्षण—यी सबै स्मृतिहरू अचानक मेहन्दीको गन्धले सक्रिय बनाउँछ । त्यसैले कतिपय महिलाहरू ‘बस मेहन्दीको गन्ध आयो, अनि मुटु गह्रौँ भयो’ भन्छन् ।
यसैबीच, महिलाहरूको सामाजिक जीवन र भूमिकासँग चुरा र मेहन्दीको सम्बन्ध झन गहिरो हुन्छ । समाजले महिलालाई सजिन प्रेरित गर्छ, तर कहिलेकाहीँ सजिनै पनि विद्रोह हुन्छ । जब एउटी विधवा महिला एकदिन साहस गरेर फेरि हरियो चुरा लगाउँछे, त्यो केवल परम्पराको उल्लंघन होइन—त्यो आत्मस्वीकृतिको घोषणा हो । त्यस्तो क्षणमा हरियो चुरा एउटा ‘मेन्टल ब्रेकथ्रु’ हो—जसले उसलाई बताउँछ: “तिमी बाँकी जीवनप्रति पनि हकदार छ्यौ ।”
त्यस्तै, जो महिलाले मेहन्दीमा कहिल्यै रुचि राख्दिनथिन्, अचानक एउटै साल किन हो कुन्नि हातभरि मेहन्दी लगाउँछिन्—त्यो पनि बुझ्नुपर्ने संकेत हो । मनोविज्ञानमा यस्तो व्यवहारलाई ‘compensatory action’ भनिन्छ—जहाँ व्यक्ति कुनै गुमाइ वा अभावलाई भरपर्दो भावनात्मक माध्यमबाट भरपाइ गर्न खोज्दछ । मेहन्दी लगाउँदा लाग्ने आत्मिक आनन्द त्यसको उपचार हुन्छ ।
चुरा र मेहन्दीको प्रयोग केवल व्यक्तिगत सन्दर्भमा सीमित छैन । यसको सामूहिक मनोविज्ञान पनि छ । साउन महिनामा महिलाहरू एकआपसमा चुरा साट्ने, मेहन्दी लगाइदिने, सँगै गीत गाउँने वा मन्दिर जाने जस्ता क्रियाकलाप गर्छन् । यसलाई collective emotional affirmation भनिन्छ । यस्तो कार्यले महिलामा आत्मीयता, आत्म-स्वीकृति र समूहभित्रको सुरक्षाबोध विकास गर्छ । यो नै मानसिक सन्तुलनका लागि अत्यावश्यक कारक हो ।
आजको समय भने बद्लिँदो छ । साउन अब टिकटक र इन्स्टाग्राममा ट्रेन्ड बनेको छ । चुरा र मेहन्दीको अर्थ धेरैजसो शोभा र दृश्य सौन्दर्यमा सिमित भएको देखिन्छ । तर मनोवैज्ञानिक रूपमा हेर्दा, तिनै डिजिटल भिडियो र तस्बिरहरू पनि महिलाको ‘self-expression’ का साधन हुन् । उनीहरू आफूलाई ‘राम्री देखिँदै छु’ भन्नु केवल फेसन होइन—त्यो आत्ममूल्य, आत्मस्वीकृति र आत्मविश्वासको पुनर्स्थापना हो । जुन महिलाले वर्षभरिको बोझ, अपेक्षा र विफलताका बीच पनि आफ्नो ‘स्व’ बँचाइरहेकी हुन्छे ।
अन्ततः, जब चुरा फुट्छ वा मेहन्दी बिलाउँछ, त्यतिबेला कुनै आवाज हुँदैन । तर त्यो मौन आवाज हृदयमा गुञ्जन्छ । त्यो भन्छ—“तिमीले केही महसुस गर्यौ, तिमीले केही सम्झियौ, तिमीले आफूलाई सजायौ, किनभने तिमी बाँच्न चाहन्छौ ।” यही ‘चाहना’ हो, जुन मनोविज्ञानको मूल हो ।
त्यसैले, हरियो चुरा र मेहन्दीलाई केवल गहना, परम्परा वा शोभाको रूपमा नबुझौं । ती त नारी आत्माको अव्यक्त संवाद हुन् । समाजले नदेखेको, उनीहरूले नबोलेको, तर उनीहरूको आँखामा, हातमा र गन्धमा बोलिरहेको जीवनको कथाहरू हुन् । यी कथाहरू पढ्न हामीले मनोविज्ञानका आँखाबाट हेर्न सिक्नुपर्छ । अनि बल्ल हामी बुझ्न सक्छौं—कसरी चुराको छनछनाहट र मेहन्दीको रङभित्र हजारौँ स्त्रीहरूको मौन चेतना बाँचिरहेको छ ।