Butwal Today

गुल्मीका २०० बस्ती बाढी–पहिरोको उच्च जोखिममा

१६ श्रावण २०८२, शुक्रबार
अ+
अ-
  • गुल्मी जिल्लामा २२ हजारभन्दा बढी नागरिक बाढी र पहिरोको उच्च जोखिममा छन् ।

  • करिब २०० स्थान बाढी र पहिरोको जोखिममा रहेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ ले उल्लेख गरेको छ ।

  • गत वर्ष मालिकामा पहिरोले एउटै परिवारका पाँच जनाको मृत्यु, करिब १०० घरपरिवार विस्थापित ।

 

गुल्मी, १६ साउन ।

करिब दुई सय बस्तीहरू बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सय जति ठाउँहरू बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा बर्सातको समयमा बाढी र पहिरोबाट २२ हजार भन्दा बढी नागरिकहरू प्रभावित हुने अनुमान गरेको छ । जसअन्तर्गत मुसिकोट नगरपालिकामा बाढी पहिरोबाट जिल्लामा सबैभन्दा धेरै जोखिम अवस्थामा रहेको बताइएको छ ।

मुसिकोटमा १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा रहेका छन् । मुसिकोटको समुन्द्रे, कालीरह लगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन् । भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

मुसिकोटमा २०६४ र २०८१ मा गरेर पहिरोबाट दश जनाले ज्यान गुमाएका थिए । त्यसै गरी मालिकाका नौ स्थान बाढीको र अन्य सबै वडा पहिरोको जोखिममा परेका छन् । ती मध्ये पनि १८ स्थानलाई विशेष क्षेत्रको रूपमा राखिएको छ ।

मालिकामा छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन् भने नेटा, म्याला, जुकेना र आठमिरे लगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।

सत्यवति गाउँपालिकामा मुख्य नौ स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् । बाढीबाट बडिगाड क्षेत्रका उल्लीखोला, साहाघाट, रुद्रवेणी र लुम्दिखोला प्रभावित क्षेत्रको रूपमा रहेका छन् । ठुलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा र अस्लेवा पहिरोको जोखिममा रहेका छन् ।

सत्यवति गाउँपालिकामा २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो । तत्कालीन समयमा तीन सय बढी परिवार विस्थापित भएका थिए । गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो ।

विभिन्न वडामा करिब एक सय घर परिवार विस्थापित भएका थिए । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।

समय समयमा पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति भए पनि जिल्लामा स्थानीय सरकार र प्रशासनले जोखिम न्यूनीकरणको लागि ठोस योजना बनाउन र कार्यान्वयन गर्न सकिरहेको छैन ।

जसका कारण बाढी र पहिरोको जोखिममा रहेका परिवार बर्षातमा ढुक्कले निदाउने अवस्था नरहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेयले बताए । उनले बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीय स्तरमा संरचना नभएको हुँदा जिल्लामा सयौँ परिवार बाढी र पहिरोमा जोखिम मोलेरै बस्नु पर्ने बाध्यता रहेको बताए ।

२०७६ मा पहिरोका कारण सत्यवतीको लुम्पेकमा करिब सात सय परिवार पहिरोका कारण विस्थापित बनेर लामो समय विद्यालयमै आश्रय लिएर बस्नु परेको थियो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बाढी र पहिरोको जोखिम स्थान पहिचान गरेर सुरक्षा टोलीलाई सतर्कता सहित तैनाथी अवस्थामा राखेको बताए । जिल्लामा विपद् व्यवस्थापन समितिले हरेक वर्ष विपद् प्रतिकार्य योजना समेत बनाउँदै आएको छ ।