नवलपरासी ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम सारुले बर्दघाट नगरपालिकामा रहेका दुईवटा अस्पतालमा अनुगमन गरेका छन ।बर्दघाट नगरपालिकामा रहेको चिसापानी अस्पताल र शहीद स्मृति अस्पताल चौपत्ताको मन्त्री सारुले आज अनुगमन गरेका हुन ।
अस्पतालको अनुगमनका क्रममा नगरप्रमुख शम्भुलाल श्रेष्ठले अस्पतालमा उपकरण र जनशक्ति उपलब्ध गराउन आग्रह गरेका थिए ।सो क्रममा मन्त्री सारुले चिसापानी अस्पतालाई दुईजना एम बि बि एस चिकित्सक (मेडिकल अधिकृत ) र शहीद स्मृति अस्पताल चौपत्तालाई १ थान C-Arm Machine र १ थान DR System को X-Ray Machine उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरमै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि विगत देखि नै प्रदेश र सङ्घ सरकारसँग उपकरण र जनशक्ति उपलब्ध गराउन माग गर्दै आईएको बताए ।चिसापानी अस्पतालमा हाल एक सय पचास जनाले दैनिक सेवा लिँदै आइरहेको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश न्यौपानेले जानकारी दिए ।
यसै गरी बर्दघाट नगरपालिका वडा नम्बर १४ स्थित चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा विशेष गरी प्रतापपुर सुस्ता र बर्दघाट नगरपालिकाका सर्वसाधारणले सेवा लिँदै आएका छन् ।उक्त अस्पतालमा डायलासिस सेवा सञ्चालनको समेत तयारी भैरहेको छ ।प्रदेश सरकारले उपकरण गराए बिरामीलाई सहज रुपमा गुणस्तरीय सेवा दिन सकिने अस्पताल व्यवस्थापन समितिका सदस्य युवराज डुम्रेले बताए ।
जिल्ला समन्वय प्रमुख भगवती यादव (रुदल), मन्त्रालयका स्वास्थ्य सचिव सहितको टोली, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखा लगायतको टोलीद्वारा अस्पतालको अनुगमन गरिएको थियो ।