© २०२३
काठमाडौँ, १५ साउन ।
आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदैछ। वर्षा ऋतुमा असार १५ मा दही–च्यूरा र साउन १५ मा खीर खाने परम्परा प्राचीनकालदेखि चल्दै आएको हो।
साउने झरीका समयमा दूधमा मरमसलालगायत सामग्री हालेर बनाइने खीर स्वादिलो मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। जानकारहरूका अनुसार, यिनै कारणले साउन १५ मा खीर खाने चलन बसालिएको हो।
संस्कृतमा ‘पायस’ भनिने खीर सात्विक आहारमध्ये उत्तम मानिन्छ। वैदिक धर्मशास्त्रअनुसार पितृ र देवकार्यमा खीर विशेष महत्त्व राख्ने पदार्थ हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार साउन महिनामा खेतीपातीको मुख्य काम सकिएको, हरियाली प्रशस्त हुने र गाई–भैंसीले बढी दूध दिने समय भएकाले खीर बनाइने र इष्टमित्र तथा चेलिबेटीलाई घरमा बोलाएर खुवाउने चलन सुरु भएको हो।
उनका अनुसार, साउन महिना भगवान् शिवको प्रिय महिना हो। शिवलाई दूध र दूधबाट बनेका परिकार मन पर्ने भएकाले पनि साउन महिनामा खीर चढाउने र खाने परम्परा चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यद्यपि, यसको लागि कुनै शास्त्रीय प्रमाण भने नरहेको उनले बताए।
ऋषिमुनिका पालादेखि नै पितृकार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने परम्परा थियो। आज पनि वैदिक सनातन धर्मावलम्बीहरू श्राद्धमा अनिवार्य रूपमा गाईको दूधमा बनेको खीर खुवाउने परम्परा अझै कायमै छ ।
खीर विभिन्न प्रकारका बनाइन्छ — चामल, सावधाना, सेवई, मकै, गाजर आदि राखेर तयार गरिन्छ। ‘सावधाना’ फलफूलको वर्गमा पर्ने भएकाले स्वास्थ्यका हिसाबले पनि उपयुक्त मानिन्छ। साउन महिनामा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर खाने चलन पनि छ।
नेपाली बृहत् शब्दकोशले खीरलाई “दूधमा पकाइएको भात, चामल, चिनी, मसला आदि हालेर बनाइएको स्वादिष्ट खाद्यपदार्थ” भनेर परिभाषित गरेको छ।
नेपाली समाजमा असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे, र माघ १५ मा मालपुवा लगायत विशेष परिकार बनाएर इष्टमित्र र चेलीबेटीलाई बोलाएर खुवाउने परम्परा रहेको छ।
यसै सन्दर्भमा, राष्ट्रिय दुग्ध विकास बोर्डले साउन ज्ञछ लाई “खीर खाने दिन” अर्थात् खीर दिवसका रूपमा पनि मनाउने गरेको छ।