© २०२३
हरेक वर्ष जब साउन महिना आरम्भ हुन्छ तव महिलाको श्रृङ्गारमा थप हरियो झल्किन्छ । साथमा हरियो कै चर्चा चल्न लाग्दछ । कसैले यो हरियो पतिको सौभाग्य तथा आयु वृद्धिको सूचक भन्ने गरेको सुनिन्छ भने कतिले उत्तम वर पाउनका लागि गरिएको भन्ने पनि सुनिन्छ ।
कसैकसैले यो प्रचलन पहिले थिएन आजभोली आएको हो भन्ने गर्नुहुन्छ । कसैले प्रकृतिमा वर्षाले गर्दा हरियाली छाएको हुन्छ, त्यसैलेपनि हरियो पहिरनमा सजिएको भन्ने गर्नुहुन्छ । केहीले त अरूले गरेको देखेर देखासिकी गरेको समेत भन्नु्हुन्छ । वास्तविक यही हो भन्ने थाहा नभएको जस्तो लाग्छ ।
यो प्रचलन कहाँबाट आरम्भ भयो र कहिलेदेखि आरम्भ भयो ? यसका वारेमा एकिन साथ भन्न सकिने अवस्थाको प्रमाण देखिदैन । कसैकसैले साउनको महिना शिवजीको प्रिय महिना भएकाले शिवलाई खुसी पार्नका लागि पनि हरियोमा सजिने गरेको समेत भनेको सुन्न पाइन्छ ।
यो महिनामा अत्यधिक रूपमा हिन्दु धर्मावलम्वीहरूले रुद्राभिषेक गरेको देखिन्छ, सुनिन्छ । साउन महिनामा कतिपयका घरमा र कतिपयले शिवजीको मन्दिरमा पुगेर रुद्राभिषेक गरेको पाइन्छ । यो रह्यो आफ्नो आस्था र विश्वासको आधारमा गरिएको कार्य । आस्था र विश्वासको आधारमा कसैमाथि आघात नपर्नेगरी हरेक कार्य गर्ने छुट जो कसैलाई हुन्छ ।
स्वतन्त्रता भनेको यही हो । लोकतन्त्रमा यस्तो स्वतन्त्रता हुन्छ । साउनको महिमा गाउनेहरूले साउनको सोमबारका दिन ब्रत बस्ने र पुजाआजा संगै कृतन समेत गर्ने गरेको पाइन्छ । सोमबार व्रत बस्नाले विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास समेत रहेको पाइन्छ ।
साउनको सोमबारको दिन ब्रत बसेर पूजाआजा गर्नाले अविवाहित महिलाहरूका लागि शिवको शक्तिबाट असल वर प्राप्त हुने हुनाले उनीहरूले बेलपत्र, दूध, जल, धतुरो र अक्षता समेत शिवजीको मन्दिरमा अर्पण गर्दछन् । यो पनि एउटा पुजा विधि हो । शिव प्रसन्न गराउनका लागि विभिन्न उपायहरू गरिन्छ ।
त्यसमध्येमा शिवजीको मन्दिरमा पुगेर विधिपूर्वक पुजाआजा गर्नुृ र शिवबाट फलको अपेक्षा गर्नु यो पहिलेदेखि चलिआएको प्रचलन हो । शिवजीको पुजा गर्दा प्रायः सबैले भज्ने गरेको भजन यस प्रकार पाइन्छ:
जय शिव ओंमकारा, हर ओमकारा ।
ब्रह्मा, विष्णु सदा शिब, अध्र्दांगी धारा
एक आनन्द एक अविनाशी, त्रिभुवन व्यापी ।।
जय शिव ओंमकारा, हर ओंमकारा ।
यसैगरी कसैकसैले शिवजीलाई प्रसन्न पार्नका निम्ति भनेर एउटा अर्को प्रभावकारी मन्त्र जप्ने गरेको सुनिन्छ । यो भजनको रूपमा पनि गाउने गरिन्छ । जुन यस प्रकार रहेको छ ।
त्र्यम्वकं यजामहे सुगन्धिं पुष्टिवर्धनं ।
उर्वारुकमिव वन्धनान्मृत्योर्मुक्षीय मामृतात ।।
महिलाहरूले खास गरेर यो महिनामा हरियो साडी, चुरा, मेहन्दी लगाउने गरेको देखिन्छ । मेहन्दी प्रायः गरेर हातमा लगाउने गरिन्छ । कसैले दुबै हातको दुबैतर्फ लगाउने गरेको देखिन्छ । वास्तवमा हरियोलाई समृद्धिको प्रतिकको रूपमा लिने गरिन्छ । यसकारण जताकतै हरियो देखिनु स्वाभाविक हो भन्ने लाग्दछ ।
हामीले हाम्रा चाडहरू परम्परागत ढंगबाट मनाउँदै आएका छौं । तर हाम्रा हरेक चाडहरू कतै पशुसंग जोडिएर आएका हुन्छन् भने कतै वनस्पतिसंग जोडिएर आएका हुन्छन भने कुनै सिंगो प्रकृतिसंग जोडिएर आएका हुन्छन् । यो साउन महिना प्रकृतिसंग जोडिएर आएको हुन्छ ।
यो महिना हरियो मेहन्दी र चुरा, साडीका कुरा मात्र होइन खिरखाने पर्वको रूपमा पनि परिचित छ । साउनको पन्ध्र गतेका दिन खिरखाने दिनको रूपमा चिनिएपनि साउन महिनाभर खिरको महिमा रहन्छ । खिरखानु नाचगान भजन कृतन गर्नु रमाउनु सबैका लागि हितकारी काम हो । कहिलेकाँही रमाउन पनि जान्नुपर्दछ ।
रमाउनका लागि हाम्रा चाडहरूले सघाउँछन् । यस्तै साउनमा हरियो पहिरन र शिवजीको आराधना गरेर मनमा आनन्द मिल्छ भने यसमा पनि अन्यथा मान्नु केही जरुरी छैन । आस्था तथा विश्वास हुनेहरूले गर्छन । अरूको आस्था तथा विश्वासमा घात तथा निन्दा गर्नु कदापि हुँदैन ।
आफ्नो आस्थामा आफै रमाउने हो । यसैले आफ्नो रंङ्ग उही रंङ्ग अरूको रङ्ग अभरंङ्ग भन्ने उखान पनि सुन्न पाइन्छ आफ्नो रङ्गलाई कुण्ठित गर्ने काम कसैले गर्नुहुँदैन । हामीले वर्षभर मनाउने चाडहरूले वेग्लै महत्व राखे पनि साउनको विशेष महत्वका रहेको हुन्छ । यो साउनको महत्व पनि कम छैन भन्ने लाग्दछ । हामी नेपालीले मनाउने सबै चाडहरू आस्था र विश्वसमा अडेका छन् । हामीले विगतदेखि यसैगरी मनाउने गरेको छौं ।
कति बुझेर गरेका छौं कति नबुझेर गरेका छौं । मात्र कुरा के हो भने भित्री रहस्य नुबुझिकन गरिने कार्यले फाइदा गर्दैन । हामीले साउन महिना र सर्वत्र हरियोको जुन कुरा उठाएको छौं । त्यसमा कतिपय ब्यक्तिबाट जुन अभिव्यक्ति आयो यसमा भने एक पटक घोत्लिनु पर्दछ । अरूले गरेको देखेर आफूले नक्कल गर्ने जुन प्रवृति बढेको छ यो प्रवृति हानिकारक हुन्छ ।
देखासिकी गर्ने, अरूलाई देखाउनका लागि गर्ने, फजुल खर्च गरेर आफ्नो सान सौगात देखाउन चाहने र अनावश्यक काम कुरामा अरूलाई उछिन्ने प्रवृति अहिल वेजोडले बढेर आएको छ । धेरै कुरा हामीले हो रे मा लगेर विसाउँछौं । यो पनि हो रे त्यो पनि हो रे । पक्का यही हो भन्न किन सक्दैनौं ? तथ्य केही समय लगाएर खोजौं । वास्तविकता पत्ता लगाऔं । आफै पनि तर्क गरौं । एउटा निष्कर्ष आउन सक्छ । धेरै कुरा रे मा लगेर विसाउँदा कहिले अनर्थ समेत हुने डर हुन्छ ।
साउनको महिना वर्षायाम र खेतीपातीको महिना हो । यो समयमा मानो छरेर मुरी उब्जाउने समय भनिन्छ । एकातर्पm हाम्रा किसानहरू यतिवेला खेतबारीमा भेटिन्छन् । उनीहरू आफ्नो श्रमले खेतबारीमा अन्नवाली रोपिरहेका छन् । पो पर्व उनीहरूको लागि पनि हो । हामीले उनीहरूको जीवन कसरी सहज बनाउन सकिन्छ भन्ने वारेमा कहिल्यै सोंचेको छौं ?
सोंचेका छौ जस्तो लाग्दैन । किसानलाई धरती पुत्र भनिन्छ । धरतीपुत्र यो समयमा चिन्तित अवस्थामा छन् । यतिवेला प्रयाप्त वर्षा नभएर चिन्ता व्यक्त गरिरहेका छन् । अझ मधेश प्रदेशमा त धान खेती सुरोपुरो हुने लक्षण देखिएको छैन् । उता किसानहरू मल नपाएर तडपिरहेका छन् । हाम्रो रमाइलो भित्र उनीहरूको पीडा पनि खोज्ने र उनीहरूको पीडा भित्र हाम्रो रमाइलो पनि मिसाउने वातावरणको खोजि गर्नुपर्ने छ र समाधान गर्न जान्नुपर्ने छ ।
यतिवेला हाम्रा खेतबारीमा अन्नवाली रोप्न सकेनौं भने मुलुकको प्रसस्त धन अन्न खरिदका निम्ति विदेशमा जाने छ । यसलाई हाम्रै मुलुकमा रोक्नु पर्नेछ । यसको सहज उपायको वारेमा साउने रमाइलो संगै खोज्नु पर्ने छ । रमाईलो भित्रै यस्ता कुराहरू लुकेका पनि हुन्छन् । एकातर्फ साउन मनाउनकोे साथसाथै किसानका समस्याका वारेमा आवाज बुलन्द गर्नु पर्दछ । यो हाम्रो कर्तव्य हो । यहाँ उब्जने अन्न हाम्रै हो ।
जति धेरै उत्पादन उतिधेरै आत्मनिर्भर । जति धेरै वस्तुमा आत्मनिर्भर उति धेरै रमाइलो । जति रमाइलो उति धेरै मुलुकको धन विदेश जानबाट रोकिने । यसलाई यसरी जोड्न सक्यौं भने हरेक वर्ष हामी रमाएर हाँस्न सक्ने छौं र बाँच्न सक्ने छौं । एकतर्फको हाँसो पनि एक प्रकारको हो रे जस्तै हुन्छ । जीवन हो रे मात्र होइन । सत्य र तथ्यमा बुझ्न सक्नु पर्दछ । जय साउन ।