© २०२३
बुटवल, १६ मंसिर ।
बुटवलमा नेवार कन्याहरुको सामूहिक ईहि विवाह (बेलविवाह) सुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामूहिक ईहि यज्ञ तथा व्रतबन्ध कार्यक्रम सुरु भएको हो । नेवारी कला, धर्म, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ २३ औं संस्करणको कार्यक्रम गर्न सफल भएको परिषदका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।
‘हामीले यस क्षेत्रका नेवार समुदायलाई एकतावद्घ गर्दै भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै आएका छौ’– उनले भने । काठमाडौका नेवार पंडित हरिशरण राजोपाध्यायले कन्या तथा उनीहरुको अभिभावकहरुलाई विधिपुर्वक ईहि संस्कारका सबै विधिहरु गर्दै आएका छन् ।
मूल कन्या, पंच कन्या, नौ कन्या, ११ कन्या र साधारण कन्या गरि समूह बनाएर पुजा गरिएको छ । नेपालकै आदिबासी नेवारहरुको आफ्नै भाषा, संस्कार र संस्कृति रहेको भन्दै नया पुस्तालाई पुस्तान्तरण गर्ने रुपमा विविध कार्यक्रम गरिदै आएको उनले बताए । नेवार समुदायको कन्या रजश्वाला हुनुभन्दा पहिले गरिने अनिवार्य संस्कारमध्ये ईहि एक भएको उनले बताए ।
सामूहिक ईहि गरिदा मितब्ययी हुने भएकाले पनि पछिल्लो समय यसमा आकर्षण रहेको उनले बताए । पुचमार्फत विभिन्न अक्षयकोषहरु छन् । जसबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले बताए । नेवार पितृहरुको सम्झनामा पितृ अक्षयकोष स्थापना गरेर यसमा ४ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भएको उनले बताए । यसको ब्याज रकमबाट विभिन्न कर्ममा चलाउने गरिएको उनले बताए ।
पुचका सचिव तथा संयोजक लक्ष्मी श्रेष्ठले वार्षिक रुपमा ईहिलाई निरन्तरता दिदै आएको बताईन् । यो वर्ष ३३ जना नेवार कन्याहरु सहभागी रहेका छन् । सात जनाको व्रतबन्ध समेत हुने उनले बताए ।