Butwal Today

गुल्मीमा आगलागीमा परि एक जनाको मृत्यु 

११ श्रावण २०८२, आइतबार
अ+
अ-

 गुल्मी, ११ साउन  ।

गुल्मीमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । आगलागीमा परि धुर्कोट गाउँपालिका-५ वस्तु अमराईकी ३० वर्षीया जुना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार आइतबार बिहान ३ बजेको समयमा आगलागी भएको थियो । मृतक जुना ७० वर्षीया आमा मनिदेवी बिकसँग बस्दै आएको बताइएको छ  ।

उनको जस्ताले छाएको कच्ची एक तले घर थियो । प्रहरीका अनुसार मनिदेवीसँगै बस्ने  छोरा तर्फका  दुई नातिहरू भने सकुशल रहेका छन् । मृतक जुनाको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली बिहानै घटना स्थलमा खटिएको थियो।

आगलागीबाट तीन लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम तम्घास ल्याइँदै गरिएको बताइएको छ ।