Butwal Today

४ वर्षदेखि मरम्मत विहीन पुल, ज्यानको बाजी राखेर नदी तर्ने बाध्यता

१० श्रावण २०८२, शनिबार
अ+
अ-

सल्यान, १० साउन ।

झोलुङ्गे पुल भासिएको चार वर्ष बितिसक्दा पनि मर्मत तथा पुनः निर्माण नहुँदा सल्यान बनगाडका तीन सय परिवार प्रभावित भएका छन् ।

सल्यान र जाजरकोटको सिमानामा पर्ने भेरी नदीमा अवस्थित झोलुङ्गे पुलको दुरावस्थाका कारण स्थानीयहरू जोखिम मोल्न र कठिनाइ भोग्न बाध्य छन् ।

तीन वर्षअघि वर्षामा नदीको बहाव बढ्दा झोलुङ्गे पुलको पिलर सहित पुल भासिएको थियो । जसका कारण पुलको बिच भाग भेरी नदीको सतहमै झुन्डिएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. २ बाँमे क्षेत्रको बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्ले लगायतका गाउँका झन्डै तीन सय परिवारहरू दैनिक रूपमा प्रभावित भएको स्थानीय गोपिलाल शर्माले बताए ।

अन्य विकल्पको अभावमा जोखिम मोलेर स्थानीयहरू अहिले भासिएको पुल प्रयोग गर्न बाध्य छन् । उक्त पुल भएर प्रमुख बजार सल्लीबजार तथा नजिकैको जारकोटको छेडाबजार जानुपर्ने बाध्यता छ ।

भासिएको पुल जोखिमपूर्ण भएका कारण यात्रुलाई र विभिन्न सामान ओसारपसारमा समेत कठिनाइ भएको स्थानीय गोपिलालले बताए ।

उनका अनुसार दैनिक उपभोग्य वस्तु तथा स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य सामग्री बजारसम्म पु¥याउन किसानहरूले सास्ती खेपिरहेका छन् ।

भासिएको पुल अहिले झनै जीर्ण भएको छ । अलिकति भेल बढ्नासाथ नदी पार गर्न नसकिने स्थानीयहरूको भनाई छ ।
उक्त पुल २०७२ सालमा एक संस्थाको सहयोगमा निर्माण गरिएको थियो ।

करिब १५७ मिटर लामो उक्त पुलले वर्षौँदेखि स्थानीय बासिन्दाको दैनिक यात्रा सहज बनाएको थियो । तर भासिएपछि नगरपालिका, अन्य सम्बन्धित निकायले पुनः निर्माण वा मर्मततर्फ ध्यान नदिएको स्थानीयहरूको भनाइ छ ।

पुल भासिएको विषयमा सम्बन्धित निकायलाई बारम्बार मर्मतका लागि जानकारी गराए पनि कसैले वास्ता नगरेको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर खत्रीले बताए ।

पुल मर्मतका लागि वडाको बजेटले नपुग्ने र प्रदेश र सङ्घमा कुरा राख्दा कसैले नसुनेको उनको भनाई छ । अहिले यही भासिएको पुल बाट स्थानीय वारपार गरिरहेको भन्दै उनले पुलको अवस्था देख्दा कुनै पनि बेला ठुलो दुर्घटनाको डर रहेको वडाध्यक्ष खत्रीले बताए ।