© २०२३
नेपालगञ्ज, ९ साउन ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ मा एक युवतीको विभत्स ढंगले हत्या भएको छ। दैलेख घर भई हाल नेपालगञ्जमा बसोबास गर्दै आएकी २२ वर्षीया निर्मला थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ।
निर्मला विगत दुई वर्षदेखि नेपालगञ्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रुपमा कार्यरत थिइन् । बुधबार राति बर्दिया निवासी ३५ वर्षीय प्रकाश सुनारले निर्मलाको घाँटीमा सल बेरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या पछि प्रकाशले निर्मलाकी बहिनीलाई भिडियो कल गरी “तिम्री दिदीलाई मैले मारेँ” भनेका थिए ।
त्यसपछि अन्य आफन्त तथा साथीहरूलाई पनि फोन गरेर “अब भेटघाट यत्तिकै हो” भन्दै बिदाइका शब्द बोलेको प्रहरीले जानकारी दिएको छ । यति मात्र होइन, राति २ बजे उनी आफैँ जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गर्न पुगेका थिए। प्रकाश सुनार नेपालगञ्जकै स्वास्तिक कटेजमा विगत ४ वर्षदेखि क्याप्टेन (सेवा स्टाफ प्रमुख) को रुपमा कार्यरत थिए ।
उनी विवाहित रहेको र उनका एक छोरा, एक छोरी तथा श्रीमती बर्दियामै बसोबास गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ । प्रकाश र मृतक निर्मला विगत २ वर्षदेखि नेपालगञ्जको बेलासपुर क्षेत्रमा सँगै बस्दै आएको मृतकपक्ष तथा प्रकाशको परिवारले बताएको छ।
प्रहरीका अनुसार, हत्या भएको दुई दिनपछि शुक्रबार मात्रै निर्मलाको शवलाई पोष्टमार्टम गरी परिवारलाई बुझइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक याम बुढा मगरले जानकारी दिए।