Butwal Today

फोर्स गाडी दुर्घटनाका घाइते १५ जनाको पहिचान खुल्यो

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

सल्यान, ८ साउन ।

विहिबार दिउँसो सल्यानमा भएको फोर्स गाडी दुर्घटनाका घाइतेहरुको पहिचान भएको छ । नेपालगञ्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिमको चौरजहारीतर्फ गइरहेको भे १ ख ३९९४ नम्बरको गाडी कुमाख गाउँपालिका,२ स्थित बढाई जिउला मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परी सल्यान कुमाख–४ का करिब २८ वर्षीय चालक पारस आचार्य, ३६ वर्षीय भुपेन्द्र बस्नेत, ३६ बर्षकै टिकाराम आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका–९ की ३१ वर्षीया तुलसा सुनार, कुमाख–२ की ३२ वर्षीया दिपा बुढाथोकी र उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी घाइते भएका छन् ।

त्यस्तै कुमाख–१ का १६ वर्षीय इन्द्र रावत, कुमाख–४ का ५६ वर्षीय डोले बस्नेत, रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ की ८४ वर्षीया चन्द्री बस्नेत, ३१ वर्षीया कुन्ता विष्ट, कुमाख–४ की ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिसा राना, ६ वर्षीय महेन्द्र बस्नेत, ६२ वर्षीय कलिमान हमाल र २३ वर्षीय भुवन लामिछाने पनि घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने भुवन लामिछानेलाई रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा भर्ना गरिएको छ । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले जनाएको छ ।