Butwal Today

समृद्धि सबै नेपालीले महसुस गर्न सक्नुपर्छ : विद्यादेवी भण्डारी

८ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर व्यक्तिको लागि नभई आम जनताले अनुभूति गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छन्।

‘राइजिङ नेपाल समिट’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले समृद्धिको लक्ष्य सबै नेपालीको साझा अनुभव बन्नुपर्ने धारणा राखिन्।

उनले भनिन्, “हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनु पर्दछ।” भण्डारीका अनुसार समृद्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब त्यो मुलुकका सबै नागरिकमा समान रूपमा अनुभूत हुन्छ।

उनले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण नगरी देशमा लगानी भित्र्याउन सकिन्न भन्नेमा स्पष्ट भनाइ राखिन्।

लगानीसँगै रोजगारी सिर्जना, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारीलाई पनि सँगै लैजानुपर्नेमा उनले जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले लगानी केवल पुँजी र नाफाका लागि नभई न्याय, सम्भावना र आपसी विश्वासको लागि पनि हुनुपर्ने धारणा राखिन्।

राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासनलगायतका आधार सुनिश्चित नगरी लगानीमैत्री वातावरण बन्न नसक्ने उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको बताइन्।

उनले नेपालले अरू मुलुकका विकास मोडेलहरू नक्कल गर्नुभन्दा आफ्नै आवश्यकता, स्रोत, साधन र सम्भावनाको विश्लेषण गरेर मार्ग तय गर्नुपर्ने भनाइ राखिन्।

विशेषतः कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत आयात प्रतिस्थापन गर्न सके अर्थतन्त्र बलियो हुने उनको तर्क थियो।

भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालको विकास यात्रा सहभागी बन्न आह्वान गरिन्।

नेपालमा गरिएको लगानीले गरिबलाई रोजगारी, उद्यमीलाई प्रेरणा, र गाउँलाई उज्यालो दिन सक्ने सम्भावना औंल्याउँदै उनले समृद्धिलाई अब सपना होइन, सबैको साझा सङ्कल्पका रूपमा अघि बढाउन आग्रह गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?