© २०२३
नवलपरासी, ८ साउन ।
बर्दघाट नगरपालिका वडा नं. १ स्थित बाल्मीकि माध्यमिक विद्यालयमा नगरमा नै पहिलो पटक समावेशी शिक्षा सुरु गरिएको छ। अपाङ्गता भएका बालबालिकालाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने उद्देश्यले यो महत्वपूर्ण पहल गरिएको हो।
सहयात्री नेपालसँगको सहकार्यमा २७ जना अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा समावेशी शिक्षा दिने कार्यक्रम प्रारम्भ गरिएको विद्यालयकी प्रधानाध्यापक रामकुमारी पाध्यायले जानकारी दिइन ।
बर्दघाट–१४ मा रहेको सहयात्री नेपालका १० जना बालबालिकासहित अन्य १७ जना बालबालिकालाई यस कार्यक्रमअन्तर्गत शिक्षित गरिनेछ।
शारीरिक, दृष्टि, श्रवण, स्वर, मानसिक लगायत विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाका लागि विशेष तालिमप्राप्त शिक्षक र छुट्टै कक्षा कोठा समेत तयार गरिएको छ।
प्रधानाध्यापक पाध्यायले उक्त कार्यक्रमको औपचारिक उद्घाटन गरिएको जानकारी दिँदै समावेशी शिक्षाले सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरिन ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै प्रकृतिका बालबालिकालाई शिक्षा उपलब्ध गराउनु नगरको उद्देश्य रहेको बताए। स्थानीय सरकार मात्रै नभएर सबै सरोकारवालाको सहकार्यबाटै यस्ता सकारात्मक कार्यहरू सफल हुने र यसको प्रभाव दीर्घकालीन रहने उनको भनाइ छ ।
अपाङ्गता भएका बालबालिकाको सहज र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नगरले भौतिक संरचनामा लगानी गर्दै सहयात्री नेपालसँग सहकार्यमा अगाडि बढेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सहयात्री नेपालको समर्पित प्रयासले अपाङ्ग बालबालिकाको उज्जवल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
स्थानिय तहले यस प्रकारको कार्यक्रमप्रति अपनत्व जनाएमा प्रभावकारिता बढ्छ र कुनै पनि बालबालिका शिक्षा बाट वञ्चित नहुने सहयोगी संस्था सहयात्री नेपालको अध्यक्ष तिलकुमारी श्रेष्ठको भनाइ छ ।
समावेशी शिक्षाको सुरुवातले बर्दघाट नगरलाई सबैका लागि समावेशी शिक्षा उपलब्ध गराउने दिशामा नयाँ आयाम थप्ने विश्वास गरिन ।