© २०२३
आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस । नेपालमा पुष्पलालको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिदैछ । उता साउन ६ गते मंगलवार नेपाली राजनीतिका शिखर पुरुष स्व. वी.पी. कोइरालाको स्मृति दिवस मनाइयो ।
वीपी र पुष्पलाल श्रेष्ठको स्मृति दिवस एक दिनको फरकमा पर्दछ । तदनुसार मंगलवार वीपीको स्मृतिमा बृक्षारोपण सहित देशैभरी अन्तरक्रिया गरी वीपीको योगदानको स्मरण गरिएको छ भने आज बुधबार पुष्पलालको स्मृतिमा विभिन्न कार्यक्रम गरिदैछ ।
संयोग कस्तो छ भने वीपीको स्मृति दिवस साउन ६ गते पर्दछ, पुष्पलालको साउन ७ गते । २०३९ साल साउन ६ गते निधन हुनुभएका वीपी कोइराला अहिले पनि नेपाली राजनीतिका लोकप्रिय र चिरकाल पर्यन्त नविर्सिने नेतामध्ये एक हुनुहुन्छ ।
एकतन्त्रीय राणा शासन अन्त्य गरी मुलुकमा प्रजातान्त्रिक आन्दोलनलाई संस्थागत ढंगले अघि बढाएर नेपाली काँग्रेसलाई प्रभावशाली राजनीतिक दलको रूपमा स्थापित गराउनमा वीपीले महत्वपूर्ण योगदान दिनुभएको थियो । यता आज पुष्पलालको स्मृति दिवस मनाईदैछ ।
पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको धरोहर हुनुहुन्थ्यो भन्दा कसैको विमती हुँदैन । पुष्पलाल बामपन्थी आन्दोलनका धरोहर, कर्मठ, निर्भीक, निडर र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।
उहाँले राणाकालीन र पञ्चायतको कठोर अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना मात्र गर्नु भएन, नेपाली समाजको रूपान्तरण गर्न र नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने सुन्दर सपना साकार पार्ने उद्देश्यका साथ आफ्ना बैरीहरूका सामु शिर नझुकाएर कठोर जीवन बिताउनुभयो ।
तत्कालीन सरकारहरूको घोर दमन र जर्जर आर्थिक अवस्थाको कुनै परवाह नगरी आफ्नो क्रान्तिकारी सिद्धान्त, दर्शन र व्यवहारलाई सबैका सामु आदर्शमय शैलीमा स्थापित गराउनुभयो । त्यसैले भन्नैपर्दछ– वीपी र पुष्पलाल नेपाली राजनीतिक इतिहासका दुई तारा हुन ।
दुवै नेताले जनता र देशको भविष्य तथा महान् नेपाली क्रान्तिको भविष्यबाहेक कुनै सपना देखेनन् । नेपाली क्रान्ति र जनताको हितका खातिर पुष्पलालले कठोर जीवन बिताउनुभयो । उहाँले कहिले पनि आफ्नो निम्ति, आफ्नो परिवारको निम्ति, आफ्ना आफन्तजनको सुख सुविधाप्रति कहिल्यै पनि सोच्नुभएन ।
नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसको जग वसाल्न उहाँहरूले पु¥याएको ऐतिहासिक योगदानको चर्चा जति गरेपनि कम नै हुन्छ । बिडम्वना उहाँहरूको योगदान अहिले बर्षमा एक दिनमै सीमित भएको छ । बार्र्षिक स्मृतिमा मात्रै सम्झिने र अरू बेला बिर्सने जुन संस्कारको विकास भएको छ, यो गलत छ ।
तसर्थ कांग्रेसले वीपीलाई सधै सम्झनु पर्दछ । उहाँको स्मृतिमा मात्रै होइन, अरू बेला पनि बीपीले देखाएको मार्गदर्शक सिद्धान्तको विषयमा अन्तरपार्टी तहमा गंभीर बहस र छलफल गर्नुपर्दछ ।
पुष्पलालको स्मृतिमा पनि समय समयमा बिचार विमर्श चलाउने गरियो भनेमात्रै पनि उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी आज मुलुकको शक्तिशाली राजनीतिक पार्टीका रूपमा स्थापित छ ।
तर विडम्वना कम्युनिष्टहरू अनेक चिरामा विभाजित भएका छन् । पुष्पलालले देखेको कम्युनिष्ट पार्टी सायद एउटै थियो होला । अन्ततोगत्वा वी.पी.ले नेपाली काँग्रेस र पुष्पलालले कम्युनिष्ट पार्टीलाई मलजल नगरेको भए यी दुई शक्ति अहिलेको अवस्थामा आउने थिए वा थिएनन् ? नेपालको प्रजातान्त्रिक आन्दोलनले यो उचाई प्राप्त गर्न सक्थ्यो वा सक्थेन ?
यसै भन्न सकिने अवस्था छैन । वीपी र पुष्पलालको स्मृति दिवस मनाईरहँदा उहाँहरूले देखेको राजनैतिक सपना त पूरा भएको छ । देशमा प्रजातन्त्रमात्रै होइन देश गणतन्त्रमय बनेको छ ।
तर, उहाँहरूको अर्को सपना थियो– जनताको सुख र सम्मृद्धि । त्यो अझै पूरा हुन सकेको छैन । हाम्रा राजनेताहरूको काँधमा ती दुई नेताले कल्पना गरेको नेपालको सपना पूरा गर्ने जिम्मेवारी छ । अव त्यो जिम्मेवारी पूरा गर्नेतर्फ पहल होस् ।