© २०२३
बर्दिया, ६ साउन ।
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का तीन जना स्थानीय काठमाडौँस्थित पशुपति नाथको दर्शन गर्न साइकलमै हिँडेका छन् ।गुलरिया नगरपालिका वडा नम्बर ३ तेजिपुर गाउँका जितेन्द्र कुमार यादव, दयाराम रैदास र मालती प्रसाद गोडिया पशुपति दर्शन गर्नका लागि गुलरियाबाट साइकल यात्रा सुरु गरेका हुन ।
उनीहरूलाई गुलरिया नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सर्वजित् यादवलगायतले सोमबार शुभकामना दिँदै यात्राका लागि बधाई दिएका छन् । उनीहरू साउन महिना लागे सँगै पशुपतिनाथको दर्शन गर्नका लागि साइकलमै काठमाडौँ पुग्ने भएका छन् ।
भगवान् दर्शनका लागि पैदल हिँडे जस्तै आफ्नो मिहिनेतले काठमाडौँ पुगेर दर्शन गर्नका लागि साइकलमा हिँडेको जितेन्द्र कुमार यादवले बताए । हिन्दु धर्म अनुसार साउन महिनालाई भगवान् शिवको महिना मान्ने भएकोले यो महिना भरी तीर्थ यात्रामा रह्ने उद्देश्यले साइकलमा भगवान् पशुपतिनाथको दर्शनका लागि हिँडेको रयाराम रैदासले बताए ।
काठमाडौँ पुग्न जति दिन लागे पनि महिना भरी यात्रा गर्ने र भगवान् पशुपतिनाथको दर्शन गरेर मात्र घर फर्कने मालती प्रसाद गोडियाले बताए । सावन सुरु भएयता बोलबम भक्तजनहरू विभिन्न मन्दिरमा दर्शन गरिरहेका छन् ।